'नागरिक अाफ्ना दु:ख र समस्या हटेकाे हेर्न अाँतुर छन्'


मनिकर कार्की
प्रतिनिधिसभा सदस्य उम्मेदवार
रुपन्देही क्षेत्र नं. २
नयाँ शक्ति पार्टी, नेपाल

तपाईंको राजनीतिक यात्रा केका लागि हो ?
म विगत एक दसकदेखि नै सक्रिय रुपले लेखनमा संलग्न छु । साथै मैले आफ्नो पेशागत जिम्मेवारी पनि राम्रैसँग निभाएको थिएँ । मैले आफ्ना लेखहरुमार्फत देशको आर्थिक, सामाजिक, राजनीतिक परिवर्तन तथा सांस्कृतिक रुपान्तरणको आवश्यकतामा जोड दिंदै यो देशको विकास र समृद्धिका बारेमा कलम चलाएँ । तर, लेखेर मात्रै समाज बदल्न नसकिने रहेछ । समाज बदल्नको लागि त राजनीति नै सबैभन्दा ठूलो क्षेत्र रहेछ भन्ने लागेर म राजनीतिमा लागेको हुँ ।
फेरि हाम्रो राजनीति अहिले निकै अपारदर्शी एवं भ्रष्टिकृत हुँदै गएको छ । यसलाई पनि बदल्नु छ । अनि बदलिएको राजनीतिक व्यवस्थासँगै बदलिएको विकास, समृद्धि र प्रगतिको राजनीतिक कार्यभार पूरा गर्नका लागि नयाँ पुस्ता राजनीतिमा सक्रिय हुनु पर्छ नै भन्ने लागेर म राजनीतिमा प्रवेश गरेको हुँ । भ्रष्टाचारको दलदलमा डुबेको राजनीतिलाई उतार्नकै लागि हामी युवा अब राजनीतिक विकल्प बनेर अघि बढ्नुपर्छ । यही दृष्टिकोण र आत्मविश्वास बोकेर म सक्रिय राजनीतिमा लागेको हुँ । 
अहिले राजनीतिबाट सबै दिक्क भएका छन् । खासगरी अहिलेको युवापुस्ता त झनै राजनीतिको नाम नै सुन्न चाहँदैन । तपाईं चाहिं सबै छाडेर राजनीतिमा लाग्नुभएको छ, किन ?
हाम्रो समाजमा एउटा कथन नै छ नि, पहिलो सिटमा बस्ने (फस्र्ट बेन्चर्स) डाक्टर इन्जिनियर अनि पछिल्लो सिटमा बस्ने (लास्ट बेन्चर्स) नेता । मलाई लाग्छ अब त्यो पुरानो मान्यता बदल्ने बेला भएको छ । अहिले यो देशमा राजनीतिक कार्यभार बदलिएको छ । अब बदलिएको कार्यभार पुरा गर्नका लागि युवा पुस्ता अग्रसर हुनैपर्छ । त्यो चाहे व्यवसायिक, पेशागत वा राजनीतिमै किन नहोस् । यहि ऐतिहासिक कार्यभार पूरा गर्नका लागि अबको पुस्ता राजनीतिमा सक्रिय भएर लाग्नुपर्छ । किनकि यो पुस्तामा कुनै लोभ हुँदैन र छैन । कुनै आर्थिक अपारदर्शिता हुँदैन र छैन । राजनीतिबाट व्यक्तिगत लाभ लिने आकांक्षा हुँदैन र छैन । यदि छ त केवल यहाँ भइरहेको बेथिती र अनियमितता अन्त्य गर्ने चाहना । यदि छ त केवल यहाँको अव्यवस्था अन्त्य गर्ने र देशलाई समृद्ध तुल्याउने हुटहुटी । यसैका लागि युवा आफैं राजनीतिमा विकल्प बनेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको हो । मेरो राजनीतिक यात्राको उद्देश्य पनि यहि नै हो । 
तपाईंले असल राजनीतिका लागि आफ्नो उम्मेदवारी दिएको भन्नुभएको छ, राजनीति किन बिग्रियो ?
हाम्रो पारम्परिक राजनीतिले कार्यकर्ता र समर्थक मात्रै उत्पादन गर्यो । अब त्यसो होइन, राजनीतिले एक सचेत र आलोचनात्मक चेत भएको नागरिक जन्माउनुपर्छ । म यहि ध्येयका साथ राजनीतिमा लागेको हुँ । मेरो राजनीतिक अभिष्ट आफू नेता हुने अनि अरुलाई कार्यकर्ता वा फलोअर बनाउने होइन, म आफू नागरिकको अवस्था फेर्ने अभियानमा सक्रिय एक अभियन्ता हुँ र म यो देशमा सचेत नागरिक बनाउने अभियानमा लाग्नेछु । 
अर्को कुरा यहाँ राजनीति व्यवसायिकृत भइसकेको छ । यहि चुनावमा ठूला पार्टीहरुले उम्मेदवार चयन गर्दा बाहिर आएको आर्थिक चलखेललाई मात्र हेर्ने हो भने पनि राजनीतिक अब व्यवसायिकृत भइसकेको निश्कर्ष निस्कन्छ । जब राजनीति व्यवसायिकृत हुन्छ, त्यसले भ्रष्टाचारलाई पृष्ठपोषण गर्छ र अन्ततः त्यो अपराधिकरणतर्फ अग्रसर हुन्छ । यहिँनेर बिग्रिएको हो हाम्रो राजनीति । अब यसलाई बदलेर असल र पारदर्शी बनाउनुपर्छ । मेरो राजनीतिक अभियान यो पनि हो ।
तपाईं खासमा किन उम्मेदवार बन्नुभएको हो ? युवाको प्रतिनिधि बन्न कि कुनै पद र शक्ति आर्जन गर्नका लागि हो ? 
हेर्नुस् मेरो राजनीतिक यात्रामा कुनै पद, आर्थिक लाभ या शक्तिको आशक्ति छैन । तपाईंलाई थाहा छ, म पेशागत रुपमा पनि राम्रै हैसियत बनाएर बसेको मान्छे हुँ । प्राध्यापन, मिडिया व्यवस्थापनहुँदै लघुवित्त बैंकको प्रमुख कार्यकारी अधिकृत भएर पनि काम गरिसकेको छु । त्यसैले मलाई कुनै लाभ या शक्तिको आशक्ति छैन । हो, म अहिले राजनीतिमा लागेको छु । राजनीतिमा सक्रिय हुँदैगर्दा प्राप्त हुने पद या शक्तिलाई भने मैले मेरो घोषित राजनीतिक लक्ष्य हासिल गर्नकै लागि उपयोग गर्नेछु । मैले व्यक्तिगत स्वार्थका लागि राजनीति गरेको होइन, म गर्दिन । यो देशमा परिवर्तनको खाँचो छ, त्यो परिवर्तनका लागि युवा पुस्ता सक्रिय हुनुपर्छ भन्ने महशुस गरेरै म राजनीतिमा लागेको हुँ । त्यसैले मेरो राजनीतिक यात्रा समाज बदल्ने, यहाँको गरिबी अनि बेरोजगारीको अवस्था बदल्ने, सामान्य रोजीरोटीको लागि विदेशिन बाध्य युवा पुस्तालाई स्वदेशमै आफ्नो घरपरिवारसँग बस्ने वातावरण बनाउने र आम नागरिकको अवस्था र दैनिकी फेर्ने नै मेरो घोषित राजनीतिक लक्ष्य हो ।
चुनावी अभियानमा व्यस्त हुनुहुन्छ होला, तपाईंलाई आम नागरिकले किन भोट दिने ?
पहिलो कुरा नयाँ शक्ति पार्टीले बदलिएको राजनीतिक परिवेशमा राजनीतिक गन्तव्य बदलिएको निश्कर्षसहित आर्थिक विकास, समृद्धि र प्रगतिलाई नै मुख्य राजनीतिक एजेण्डा बनाएर वैकल्पिक राजनीतिको सुरुवात गरेको छ । र, म यहि एजेण्डा लिएर आम नागरिकको घरदैलोमा पुगेको छु । त्यसैले विकास, समृद्धि र प्रगतिको नयाँ गन्तव्यमा पुग्नका लागि आम मतदाताले मलाई भोट दिने । 
दोस्रो बदलिएको राजनीतिक गन्तव्यसहितको बदलिएको राजनीतिक कार्यभार पूरा गर्नका लागि अबको नयाँ पुस्ता अग्रसर हुनुपर्छ र मैले त्यही युवा पुस्ताको नेतृत्व गरेको छु, त्यसैले मलाई भोट दिने । र, म विसंगतिपूर्ण बन्दै गएको राजनीति सफा गर्न र असल राजनीतिक संस्कार निर्माण गर्नकै लागि राजनीतिको मैदानमा उत्रिएको छु, त्यसैले असल राजनीतिका लागि आम नागरिकले मलाई मत दिनुहुन्छ भन्नेमा म विश्वस्त छु ।
४) चुनावी अभियानका क्रममा तपाईं धेरै मतदाताको घरदैलोमा पनि पुगिसक्नुभयो होला, आम मतदाताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ? 
हो, हामी चुनावी प्रचारप्रसार अभियानमै सक्रिय छौं र हामी मतदाताको प्रतिक्रियाले उत्साहित पनि छौं । अहिले आम नागरिक प्रश्न गर्न थालेका छन् । विगतमा दल र तिनका नेताहरुले बाँडेका आश्वासनको बारेमा प्रश्न गर्छन् । ती सपना किन पूरा हुन सकेनन् भनेर प्रश्न गर्छन् । हामी त्यसैको उत्तर दिँदै पारम्परिक राजनीतिको चरित्रको बारेमा मतदातालाई सम्झाउँदैछौं । अनि वैकल्पिक राजनीतिको बारेमा जानकारी दिंदै अबको राजनीतिक गन्तव्यको बारेमा बहस गर्दै हिंडेका छौं । यसमा आम नागरिकको अभिमत परिवर्तन, विकास र समृद्धिकै दिशातर्फ छ । आम नागरिक आफ्नो अवस्था बदलिएको हेर्न चाहन्छन् । यो देश समृद्ध बनेको देख्न चाहन्छन् । आफ्ना समस्या र दुःख हटेको हेर्न आतुर छन् ।
मतदातालाई कसरी कन्भिन्स गर्नुहुन्छ ?
म आम नागरिकको घरदैलोमा पुगेर मत माग्दै गर्दा निकै उत्साहित भएको छु र रमाइलो पनि लागिरहेको छ । हामीले अब युवापुस्ताले राजनीतिको बागडोर सम्हाल्नुपर्छ । म परिवर्तन, विकास, समृद्धि र प्रगतिको मुद्दाहरु लिएर चुनावी अभियानमा छु र नागरिकबाट पनि हाम्रा मुद्दाहरुलाई सहर्ष स्वीकार गरिएको छ । उहाँहरुमा देश परिवर्तन भएन, बेरोजगारीको अन्त्य भएन, दुःख बदलिन सकेन भन्ने गुनासो छ । हामी त्यही अवस्था बदल्ने अभियानमा छौं । अबको राजनीतिक कार्यभार युवापुस्ताले बदल्ने हो, हामी त्यही अभियानमा छौं । त्यसैले समग्र युवापंक्तिको प्रतिनिधित्व गर्दै म चुनावी मैदानमा उत्रिएको छु । मलाई साँच्चिकै रमाइलो अनि उत्साहित अनुभव गरिरहेको छु । 
हामी मतदाताको प्रतिक्रियाले उत्साहित पनि छौं । अहिले आम नागरिक प्रश्न गर्न थालेका छन् । विगतमा दल र तिनका नेताहरुले बाँडेका आश्वासनको बारेमा प्रश्न गर्छन् । ती सपना किन पूरा हुन सकेनन् भनेर प्रश्न गर्छन् । हामी त्यसैको उत्तर दिँदै पारम्परिक राजनीतिको चरित्रको बारेमा मतदातालाई सम्झाउँदैछौं । अनि वैकल्पिक राजनीतिको बारेमा जानकारी दिंदै अबको राजनीतिक गन्तव्यको बारेमा बहस गर्दै हिंडेका छौं । यसमा आम नागरिकको अभिमत परिवर्तन, विकास र समृद्धिकै दिशातर्फ छ । आम नागरिक आफ्नो अवस्था बदलिएको हेर्न चाहन्छन् । यो देश समृद्ध बनेको देख्न चाहन्छन् । आफ्ना समस्या र दुःख हटेको हेर्न आतुर छन् ।
तपाईं ठूला पार्टीका ठूलो पोर्टफोलियो भएका उम्मेदवारहरुसँग प्रतिस्पर्धामा हुनुहुन्छ, तपाईंको चुनाव जित्ने आधार के हो ?
एउटा कुरा म के स्वीकार गर्छु भने पुराना शक्तिहरु अनि तिनका नेतृत्व तपाईंले भनेजस्तो चर्चित उम्मेदवारहरुको योगदान राजनीतिक व्यवस्था फेर्नका लागि भयो । त्यसका लागि उहाँहरु सबैलाई धन्यवाद छ । तर, अहिले व्यवस्था फेरिएसँगै राजनीतिको एजेण्डा फेरिएको छ । अब आम नागरिकको अवस्था फेर्ने बेला आएको छ । गरिबीको अवस्था, भ्रष्टाचारको अवस्था, बेरोजगारीको अवस्था फेर्ने बेला हो यो । 
त्यसैले हामी यो बदलिएको राजनीतिक कार्यभार पूरा गर्नका लागि दलको शैली, संस्कार अनि चिन्तन प्रणाली नै फेरिनुपर्छ भनिरहेका छौं । त्यसैले त वैकल्पिक शक्तिको आवश्यकता महशुस भएको हो । अब हिजो जसरी राजनीति गरियो, त्यही तौरतरिका अनि शैली र विचारले राजनीति चल्दैन । अब परिवर्तन हुने बेला आइसकेको छ । हिजोको राजनीतिक साधन अनि साध्य बदलिएको छ त्यसैले अब नयाँलाई चुन्नुपर्छ । म आम नागरिकलाई पनि त्यही अपिल गर्न चाहन्छु । म उहाँहरुको प्रतिस्पर्धी होइन, विकल्प हुँ जो नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै आएको छु । म त भन्छु अब राजनीतिमा पुस्तान्तरण हुनुपर्छ, यसमा उहाँहरुले पनि सहयोग गर्नुपर्छ ।
आम मतदातासमक्ष तपाईंका केही प्रतिबद्धता छन् कि ?
मेरो राजनीतिक लक्ष्य भनेकै आम नागरिकको अवस्था फेर्ने हो । आर्थिक विकास, समृद्धि र प्रगति मार्फत आम नागरिकको मुहारमा मुस्कान भर्ने नै मेरो प्रमुख लक्ष्य हो । त्यसले म त्यही लक्ष्य प्राप्तिको दिशामा अग्रसर भएर काम गर्ने प्रतिबद्धता आम मतदातासमक्ष जाहेर गर्दछु । म अरु पार्टीका उम्मेदवारहरुले जस्तो यो पनि बनाउँछु, त्यो पनि बनाउँछु भन्दिन । किनकि त्यो नियमित कार्यसूचिमा आउने कुरा हो । यहाँ सरकारको नियमित योजनालाई आफ्नो चुनावी घोषणापत्रमा राखेर मत माग्ने परिपाटी छ, जुन सिद्धान्ततः गलत हो भन्ने मेरो बुझाई छ । 
हो, म के कुरामा प्रतिबद्धता जनाउँछु भने अब तोकिएको समयभित्र सबै निर्माणका कामहरु पूरा गर्न म प्रतिबद्ध भएर लाग्नेछु । हरेक परियोजना तोकिएको समय र लागतमा पूरा गर्ने मेरो प्रतिबद्धता हो । यसका लागि ऐन कानूनमा विशेष संशोधन गर्न जरुरी छ भने पनि म त्यो काम सबैभन्दा पहिला गर्नेछु । अनि शिक्षा, स्वास्थ्य र यातायात क्षेत्रमा सुधार र परिवर्तन मेरो अर्को काम हुनेछ । सुशासन कायम गर्नका लागि नीतिगत र प्रशासनिक सुधार अर्को काम हो । समग्रमा म आफू सदाचार, सुशासन अनि असल शासनको पक्षमा काम गर्नेछु । यहि मेरो प्रतिबद्धता हो । 

No comments:

Post a Comment

प्रादेशिक बजेटको शल्यक्रिया

मनिकर कार्की निवर्तमान प्रत्येक आर्थिक वर्ष सरकारले अनुमानित आम्दानी र खर्च विवरणको पुलिन्दाको रुपमा वार्षिक बजेट सार्वजनिक गर्नेगर्छ ।...