'आम नागरिकको अभिमत परिवर्तन, विकास र समृद्धिकै दिशातर्फ छ'

एक दसकदेखि सक्रिय रुपले पत्रकारिता तथा लेखनमा संलग्न अनि पेशागत रुपमा विश्वविद्यालय क्याम्पसमा प्राध्यापनदेखि बैंकिंग तथा लघुवित्त वित्तीय संस्थाहरुमा पनि काम गरेको अनुभव संगालेका ३२ वर्षीय युवा हुन् मनिकर कार्की । उनी अहिले सबै पेशागत जिम्मेवारी छाडेर राजनीतिमा होमिएका छन् । आम नागरिकको अवस्था बदल्ने उद्देश्यले राजनीतिमा लागेको बताउने उनै कार्की अहिले नयाँ शक्ति पार्टीको तर्फबाट रुपन्देही क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनेका छन् । उनीसँग राजनीतिक यात्रा अनि चुनावी सन्दर्भमा रामजी ज्ञवालीले गरेको कुराकानी ।
पहिलो पटक चुनावी मैदानमा उत्रिनुभएको छ, नागरिकसँग मत माग्दैगर्दा कस्तो अनुभव गरिरहनुभएको छ ?
मेरो प्रत्यक्ष राजनीतिमा सहभागिता यो पहिलो अनुभव हो । म आम नागरिकको घरदैलोमा पुगेर मत माग्दै गर्दा निकै उत्साहित भएको छु । मलाई निकै रमाइलो पनि लागिरहेको छ । अब युवापुस्ताले राजनीतिको बागडोर सम्हाल्नुपर्छ भनेरै म राजनीतिमा होमिएको हुँ । म यो देशलाई गरिबी र बेरोजगारीको चपेटोबाट मुक्त गर्नुपर्छ । यो देशमा रोजगार सिर्जना गरी विदेशिन बाध्य युवाहरुलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्छ भनेरै राजनीतिमा लागेको हुँ ।
म यिनै मुद्दाहरु लिएर चुनावी अभियानमा छु र नागरिकबाट पनि हाम्रा मुद्दाहरुलाई सहर्ष स्वीकार गरिएको छ । उहाँहरुमा देश परिवर्तन भएन, बेरोजगारीको अन्त्य भएन, दुःख बदलिन सकेन भन्ने गुनासो छ । हामी त्यही अवस्था बदल्ने अभियानमा छौं । अबको राजनीतिक कार्यभार युवापुस्ताले बदल्ने हो, हामी त्यही अभियानमा छौं । त्यसैले समग्र युवापंक्तिको प्रतिनिधित्व गर्दै म चुनावी मैदानमा उत्रिएको छु र म यो अभियानमा निकै उत्साहका साथ लागिरहेको छु ।
तपाईंको उम्मेदवारी किन र केका लागि ?
मेरो राजनीतिक यात्रा नै राजनीतिमा विकल्प निर्माण गर्ने प्रयास हो । नेपाली राजनीतिमा युवा सहभागिता प्रतिनिधिमूलक जस्तो मात्रै छ । ठूला दलहरुले युवा सहभागिताको कुरा त गर्छन् तर, अर्थपूर्ण सहभागिता छैन । उनीहरुको उम्मेदवार चयनलाई हेर्दा नै यो कुरा थाहा हुन्छ । तर, हामीले साँच्चिकै युवालाई निर्णायक र अर्थपूर्ण रुपले राजनीतिमा सहभागिता गराउनुपर्छ भनेका छौं र नयाँ शक्ति पार्टीले यसपटक युवा सहभागितालाई अर्थपूर्ण मात्र होइन, बहुमतमै राखेको छ । यसबाट पनि स्पष्ट हुन्छ कि नयाँ शक्तिले युवापुस्ता केन्द्रित भएर राजनीति गर्नेछ । हामी युवा पनि अब आफैं विकल्प बनेर अघि बढ्नुपर्छ ।
चुनावी अभियानमा व्यस्त हुनुहुन्छ होला, तपाईंलाई आम नागरिकले किन भोट दिने ?
पहिलो कुरा नयाँ शक्ति पार्टीले बदलिएको राजनीतिक परिवेशमा राजनीतिक गन्तव्य बदलिएको निश्कर्षसहित आर्थिक विकास, समृद्धि र प्रगतिलाई नै मुख्य राजनीतिक एजेण्डा बनाएर वैकल्पिक राजनीतिको सुरुवात गरेको छ । र, म यहि एजेण्डा लिएर आम नागरिकको घरदैलोमा पुगेको छु । त्यसैले विकास, समृद्धि र प्रगतिको नयाँ गन्तव्यमा पुग्नका लागि आम मतदाताले मलाई भोट दिने ।
दोस्रो बदलिएको राजनीतिक गन्तव्यसहितको बदलिएको राजनीतिक कार्यभार पूरा गर्नका लागि अबको नयाँ पुस्ता अग्रसर हुनुपर्छ र मैले त्यही युवा पुस्ताको नेतृत्व गरेको छु, त्यसैले मलाई भोट दिने । र, म विसंगतिपूर्ण बन्दै गएको राजनीति सफा गर्न र असल राजनीतिक संस्कार निर्माण गर्नकै लागि राजनीतिको मैदानमा उत्रिएको छु, त्यसैले असल राजनीतिका लागि आम नागरिकले मलाई मत दिनुहुन्छ भन्नेमा म विश्वस्त छु ।
चुनावी अभियानका क्रममा तपाईं धेरै मतदाताको घरदैलोमा पनि पुगिसक्नुभयो होला, आम मतदाताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ? 
हो, हामी चुनावी प्रचारप्रसार अभियानमै सक्रिय छौं र हामी मतदाताको प्रतिक्रियाले उत्साहित पनि छौं । अहिले आम नागरिक प्रश्न गर्न थालेका छन् । विगतमा दल र तिनका नेताहरुले बाँडेका आश्वासनको बारेमा प्रश्न गर्छन् । ती सपना किन पूरा हुन सकेनन् भनेर प्रश्न गर्छन् । हामी त्यसैको उत्तर दिँदै पारम्परिक राजनीतिको चरित्रको बारेमा मतदातालाई सम्झाउँदैछौं । अनि वैकल्पिक राजनीतिको बारेमा जानकारी दिंदै अबको राजनीतिक गन्तव्यको बारेमा बहस गर्दै हिंडेका छौं । यसमा आम नागरिकको अभिमत परिवर्तन, विकास र समृद्धिकै दिशातर्फ छ । आम नागरिक आफ्नो अवस्था बदलिएको हेर्न चाहन्छन् । यो देश समृद्ध बनेको देख्न चाहन्छन् । आफ्ना समस्या र दुःख हटेको हेर्न आतुर छन् ।
चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ, पक्कै पनि चुनाव जित्ने आशा पनि राख्नुभएकै होला । के तपाईंले विगत लामो समयदेखि राजनीतिमा सक्रिय उम्मेदवारहरुसँग अनि ठूलो इतिहास बनाएका दलहरुलाई पराजित गराउन सक्नुहुन्छ ?
म के कुरा स्पष्ट पार्न चाहन्छु भने नेपालको राजनीतिक परिवर्तनमा पुराना दलहरुको निकै महत्वपूणै अनि उच्च योगदान रहेको साँचो हो । उनीहरुले नेपालको राजनीतिक व्यवस्था फेर्नका लागि संघर्ष गरे । त्यसका लागि उहाँहरु सबैलाई धन्यवाद छ । तर, अहिले व्यवस्था फेरिएसँगै राजनीतिको एजेण्डा फेरिएको छ । अब आम नागरिकको अवस्था फेर्ने बेला आएको छ । गरिबीको अवस्था, भ्रष्टाचारको अवस्था, बेरोजगारीको अवस्था फेर्ने बेला हो यो । त्यसैले हामी यो बदलिएको राजनीतिक कार्यभार पूरा गर्नका लागि दलको शैली, संस्कार अनि चिन्तन प्रणाली नै फेरिनुपर्छ भनिरहेका छौं । त्यसैले त वैकल्पिक शक्तिको आवश्यकता महशुस भएको हो ।
अब हिजो जसरी राजनीति गरियो, त्यही तौरतरिका अनि शैली र विचारले राजनीति चल्दैन । अब परिवर्तन हुने बेला आइसकेको छ । हिजोको राजनीतिक साधन अनि साध्य बदलिएको छ त्यसैले अब नयाँलाई चुन्नुपर्छ । म आम नागरिकलाई पनि त्यही अपिल गर्न चाहन्छु ।
तपाईंको क्षेत्रका मतदाताको सबैभन्दा ठूलो समस्या के पाउनुभयो ?
मेरो चुनावी क्षेत्रमा गाउँदेखि सहरबजार क्षेत्रसम्म भएकोले सबै ठाउँको समस्या फरकफरक रहेको पाएँ । बजार क्षेत्रको समस्या र गाउँको फरक हुन्छ । यद्यपि उचित स्वास्थ्य शिक्षाको अभाव, बेरोजगारी, महंगी जस्ता साझा समस्याहरु पनि छन् नै । यहाँ भूमिमा स्वामित्वको अभाव पनि अर्को ठूलो समस्या हो । जसलाई समाधान गर्ने पुराना पार्टीहरुको पुरानै प्रतिबद्धता वर्षौंसम्म पनि पूरा भएको छैन । अनि वर्षौंदेखि निर्माणाधिन विकास परियोजनाहरु समयमै सम्पन्न नहुनु पनि यहाँको मुख्य समस्या हो । यी सबै समस्या हल गर्दै यस क्षेत्रको आधुनिक विकासका लागि एकीकृत विकास योजना र नीतिगत सुधार अपरिहार्य देखिएको छ । मैले त्यही विषयमा अध्ययन गरी विशेष योजना निर्माण गरी काम गर्ने लक्ष्य लिएको छु ।
रुपन्देहीमा जिल्लामा नयाँ शक्ति पार्टीको अवस्था कस्तो छ ?
नयाँ शक्ति पार्टी स्थापना भएको त्यस्तै डेढ वर्षजति भयो । यो अवधिमा नयाँ शक्तिले देशैभर संगठन निर्माण गर्न सफल भएको छ र करिब ३० देशहरुमा प्रवास संगठन बनिसकेको छ । जहाँसम्म रुपन्देहीको कुरा छ, जिल्लाभर ३ हजार भन्दा बढी पार्टी सदस्यहरु छन् भने यहाँका सबै नगर तथा गाउँपालिकाहरुमा संगठन निर्माण भइसकेको छ ।
स्वभाविक रुपमा ठूला पार्टीहरुको तुलनामा हाम्रो संगठन कमजोर पक्कै हो तर, हामी जुन गतिमा अघि बढिरहेका छौं, त्यो भने पक्कै पनि उत्साहजनक नै छ । किनकि स्थापनाको यति छोटो समयमा हामीले देशैभरबाट उम्मेदवारहरु उठाएर चुनावी अभियान तीव्र पारेका छौं, हाम्रा लागि यो नै पहिलो सफलता हो । जहाँसम्म चुनावी मतपरिणामको कुरा छ, हामी यसपटक सबै ठाउँमा जित्नकै लागि मात्र होइन, हाम्रो एजेण्डा स्थापित गर्न र एउटा सशक्त विकल्प निर्माण गर्नका लागि चुनावी मैदानमा उत्रिएका हौं ।
निकै ठूलो तामझामका साथ घोषणा भएको नयाँ शक्ति अहिले निकै कमजोर बनेको देखिन्छ नि, किन त्यस्तो भयो ?
हेर्नुस्, नयाँ शक्ति पार्टी जुन उद्देश्यका साथ स्थापना भएको थियो, अहिले पनि त्यो उद्देश्यबाट कत्तिपनि बिचलित भएको छैन । हामी अभियन्ताहरु रत्तिभर पनि विचलित भएका छैनौं । किनकि हामीलाई भविष्यप्रति विश्वास छ अनि सबैभन्दा ठूलो कुरा आफैंप्रति विश्वास छ । यद्यपि एउटा जिवन्त पार्टीमा मान्छेहरु आउने जाने निरन्तर भइनैरहन्छ । अरु पार्टीहरुमा पनि मान्छेहरुको आउने जाने क्रम चलिनैरहेको छ । त्यसैले नयाँ शक्तिमा पनि यो क्रम चल्नु कुनै नौलो होइन । फेरि नयाँ शक्ति पार्टीको वैकल्पिक राजनीतिक यात्रा तत्कालका लागि होइन । यो भविष्यउन्मुख लामो यात्रा हो । अनि यो यात्रामा कतिपय पुराना सहयात्रीहरु थाक्नु स्वभाविक पनि हो । त्यसैले थाक्नेहरु बाहिरिने अनि ऊर्जाशील नयाँ अनुहारहरु पार्टीभित्र भित्रिने क्रम निरन्तर चलिनैरहन्छ ।
तपाईंले कति मत ल्याउने अपेक्षा गर्नुभएको छ ?
अब जहाँसम्म मतको कुरा छ, हामीलाई के विश्वास छ भने आम नागरिक पुराना पार्टीहरुको झुठा आश्वासनबाट दिक्क भइसकेका छन् । अहिले सबै विकल्पको कुरा गरिरहेका छन् । हामी चुनावी अभियानका क्रममा सहरबजार अनि गाउँघरतिर घुम्दा पनि आम नागरिकले गुनासो र असन्तुष्टि नै पोखेका पायौं । त्यसैले यसपटक हामी वैकल्पिक शक्तिलाई नागरिकले मत दिन्छन् भन्नेमा हामी आशावादी छौं । अनि अर्को कुरा चुनाव जित्नकै लागि मात्र पनि लडिन्न । जित्ने उद्देश्य राख्ने हो तर पनि हामीले वैकल्पिक राजनीतिको रक्षाका लागि अनि आम युवापुस्तामा छाएको राजनीतिक निराशालाई हटाउनको लागि र भविष्यमा आशा कायमै छ भन्ने सन्देश दिनकै लागि चुनाव लडेका हौं । यसमा नागरिकले हाम्रो अभियानलाई साथ दिनेछन् भन्नेमा हामी पूर्ण आशावादी छौं ।
 आम मतदाताका सामु तपाईंका प्रतिबद्धताहरु के कस्ता छन् ?
मेरो राजनीतिक लक्ष्य भनेकै आम नागरिकको अवस्था फेर्ने हो । आर्थिक विकास, समृद्धि र प्रगति मार्फत आम नागरिकको मुहारमा मुस्कान भर्ने नै मेरो प्रमुख लक्ष्य हो । त्यसले म त्यही लक्ष्य प्राप्तिको दिशामा अग्रसर भएर काम गर्ने प्रतिबद्धता आम मतदातासमक्ष जाहेर गर्दछु । म अरु पार्टीका उम्मेदवारहरुले जस्तो यो पनि बनाउँछु, त्यो पनि बनाउँछु भन्दिन । थप म के कुरामा प्रतिबद्धता जनाउँछु भने अब तोकिएको समयभित्र सबै निर्माणका कामहरु पूरा गर्न म प्रतिबद्ध भएर लाग्नेछु ।
हरेक परियोजना तोकिएको समय र लागतमा पूरा गर्ने मेरो प्रतिबद्धता हो । यसका लागि ऐन कानूनमा विशेष संशोधन गर्न जरुरी छ भने पनि म त्यो काम सबैभन्दा पहिला गर्नेछु । अनि शिक्षा, स्वास्थ्य र यातायात क्षेत्रमा सुधार र परिवर्तन मेरो अर्को काम हुनेछ । सुशासन कायम गर्नका लागि नीतिगत र प्रशासनिक सुधार अर्को काम हो । समग्रमा म आफू सदाचार, सुशासन अनि असल शासनको पक्षमा काम गर्नेछु । आम नागरिकका सामु मैले जाहेर गर्ने प्रतिबद्धताहरु यिनै हुन् ।
nagarikaawaj.com मा प्रकाशित भएकाे ।

No comments:

Post a Comment

प्रादेशिक बजेटको शल्यक्रिया

मनिकर कार्की निवर्तमान प्रत्येक आर्थिक वर्ष सरकारले अनुमानित आम्दानी र खर्च विवरणको पुलिन्दाको रुपमा वार्षिक बजेट सार्वजनिक गर्नेगर्छ ।...