मेरो परिचय एवं प्रतिबद्धता


१. हाम्रो सोंच

मूलतः २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भएसँगै राजनीतिक रुपले एउटा रणनीतिक फड्को मारेको विश्लेषण गर्दै ‘निकासका लागि विकास’ भन्ने मूल सिद्धान्तसहित आर्थिक विकास र समृद्धिको एजेण्डालाई राजनीतिको केन्द्रीय मुद्दा बनाएर देशलाई समुन्नत बनाउने घोषित लक्ष्य पूरा गर्न नयाँ शक्ति पार्टी, नेपालको उदय भएको हो । 


समुन्नत नेपालको लक्ष्य हासिल गर्न हामी शित युद्धकालीन दुई ध्रुवीय विचार–राजनीति भन्दा माथि उठेको र अगाडि बढेको ‘वाम–लोकतान्त्रिक’ र ‘समुन्नत समाजवाद’को विचार–राजनीति लिएर उपस्थित भएका छांै । नेपालको हिमाल, पहाड, तराई– मधेशलाई तोड्ने हैन जोड्ने अनि भ्रष्टाचारको पर्याय बन्दै गइरहेको राजनीतिलाई सुशासन र सदाचारयुक्त बनाउने ठोस कार्ययोजना नै नयाँ शक्तिको आधारशीला हो । नया“ नेपाल, समृद्ध नेपाल, सभ्य र सुशासित नेपाल, भ्रष्टाचारमुक्त नेपाल अनि खुशी र सुखी नेपाली नागरिक बनाउने हाम्रो सोंच हो ।


२. मेरो परिचय ः
मेरो नाम मनिकर कार्की हो । म २०४२ सालमा रामेछाप जिल्लामा जन्मिएर २०६३ सालदेखि बुटवललाई कर्मथलो बनाइ काम गरिरहेको ३२ वर्षीय युवा हुँ । बुटवलमा मैले एक दसकको अवधिमा बैंक तथा वित्तीय क्षेत्र, प्राध्यापन, मिडिया व्यवस्थापन एवं पत्रकारिता पेशामा आवद्ध रहेर काम गरेँ । मैले बुटवलमा रहेर पेशाको अलवा मुलुकको आर्थिक, सामाजिक, राजनीतिक एवं सांस्कृतिक रुपान्तरणका लागि स्तम्भ लेखनबाट सक्रिय योगदान पनि गरेको छु । 

तर, लेखेर अनि बोलेर मात्र परिवर्तन हुँदैन रहेछ भन्ने महशुस गरेर भ्रष्टाचार र असंगतिको दलदलमा फसेको नेपाली राजनीतिलाई सफा गर्ने र सुसंस्कारित बनाउने घोषित लक्ष्यका साथ म विगत १५ महिनादेखि सम्पूर्ण रुपले सक्रिय राजनीतिमा आवद्ध भएको हुँ । म एउटा निम्न वर्गीय परिवारमा जन्मिएको व्यक्ति हुँ । प्राविधिक रुपले मेरो जन्म र बाल्यकाल रामेछापको एउटा गाउँमा निम्नस्तरले नै बित्यो । सामान्य अक्षर चिन्ने काम गाउँमै भयो तर, गाउँमा माध्यामिक विद्यालय थिएन । त्यसैले बाल्यकालमै म शिक्षाको खोजीमा भौतारिंदै काठमाडौं प्रवेश गरेँ । 

त्यसपछि मेरो शिक्षा आर्जन जेनतेन काठमाडौंमा भयो र स्नातक तहसम्मको अध्ययन पश्चात् म २०६३ सालमा रोजगारीको सिलसिलामा एक वित्त कम्पनीमा जागिर खान बुटवल झरेँ र बुटवलबाटै आफ्नो जीवनको क्यारियर सुरु गरेको हुँ । यसर्थ, बुटवलले मलाई सबैकुरा दिएको महशुस गरेको छु । अहिले म जुन हैसियतमा छु त्यो सबै मैले यही भूमिबाट यहाँकै समाज र तपाईंहरुसँगको अन्तरक्रियाबाट आर्जन गरेको सम्पत्ति हो । पेशागत जिम्मेवारी सम्हाल्दै मैले बुटवलको एक प्रतिष्ठित मिडिया हाउसको कार्यकारी तहमा बसेर काम गरेँ भने बुटवलकै एक लघुवित्त बैंकको संस्थापक प्रमुख कार्यकारी अधिकृत भएर पेशागत जिम्मेवारी सम्हालेको छु । बैंकिंग तथा मिडिया व्यवस्थापनको अलवा विश्वविद्यालय क्याम्पसमा प्राध्यापनसमेत गरेको छु । 

२०७२ असोज ३ गते संघीय गणतन्त्र नेपालको नयाँ संविधान जारी भएसँगै मुलुकको राजनीतिमा एउटा युगान्तकारी फड्को (प्याराडाइम सिफ्ट)को आवश्यकता महशुस भयो । जब २०७३ साल जेठ ३० गते विशाल सभासहित नयाँ शक्ति पार्टी औपचारिक रुपमा घोषणा भयो, मेरो राजनीतिक सक्रियता बढ्न गयो र म त्यसयता सक्रिय राजनीतिमा लाग्ने मनुसवाका साथ प्राध्यापन तथा लघुवित्त बैंकको सिइओको जागिर छाडेर राजनीतिमा होमिएको छु । हाल म नयाँ शक्ति पार्टी, नेपालको महाधिवेशन आयोजक समिति सदस्यको रुपमा कार्यरत छु भने नेपालको सन्दर्भमा वैकल्पिक राजनीतिका अलवा वैकल्पिक अर्थतन्त्रको आवश्यकता बारेको बहसमा समेत निरन्तर सक्रिय रहँदै आएको छु । 

मैले त्रिभुवन विश्वविद्यालयबाट विशिष्ट श्रेणीसहित व्यवस्थापन संकायमा स्नातकोत्तरसम्मको अध्ययन गरेको छु भने मेरो लेखनमा २०७१ सालमा वैकल्पिक अर्थतन्त्र नामको पुस्तक पनि प्रकाशित भइसकेको छ । मुलुकको आर्थिक विकास र समृद्धिका लागि हामीले आफ्नो प्राथमिकता र आवश्यकता अनुसारको वैकल्पिक आर्थिक नीति अवलम्बन गर्नुपर्ने आवश्यकता माथि मेरो विशेष जोड रहने गरेको छ । नेपाली राजनीतिमा पुस्तान्तरणको अभाव छ र नवयुवाहरु राजनीतिमा आफैं विकल्प बनेर अगाडि आउनुपर्छ । अब युवाले गुनासो गर्ने मात्र होइन, हामी आफैं विकल्प बनेर अगाडि बढ्न सक्छौं भनेर देखाउने बेला भइसकेको छ । मेरो राजनीतिक यात्रा विकल्पको खोजी हो ।

३. राजनीतिमा युवा पुस्ता किन ?

यो देशमा पटकपटक राजनीतिक परिवर्तन भएको छ । त्यो परिवर्तनले राजनीतिक व्यवस्था बदलियो तर, आम नागरिकको आर्थिक अवस्था बदलिन सकेन । जनयुद्ध र जनआन्दोलनमार्फत हामीले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानुपातिक समावेशितासहितको जनपक्षीय संविधान निर्माण गरिसकेका छौं । तर, संविधानमा उल्लेख भएका राजनीतिक अधिकारको तबमात्र अर्थ हुन्छ, जब सबै नागरिकले आफ्नो व्यक्तिगत या सामाजिक जीवनमा परिवर्तनको महशुस गर्दछन् । हो, अब त्यही परिवर्तन अर्थात् आर्थिक अवस्था परिवर्तनको ऐतिहासिक कार्यभार पूरा गर्न बाँकी छ । 

यहि ऐतिहासिक कार्यभार पूरा गर्नका लागि अबको पुस्ता राजनीतिमा सक्रिय भएर लाग्नुपर्छ । किनकि यो पुस्तामा कुनै लोभ हुँदैन र छैन । कुनै आर्थिक अपारदर्शिता हुँदैन र छैन । राजनीतिबाट व्यक्तिगत लाभ लिने आकांक्षा हुँदैन र छैन । यदि छ त केवल यहाँ भइरहेको बेथिती र अनियमितता अन्त्य गर्ने चाहना । यदि छ त केवल यहाँको अव्यवस्था अन्त्य गर्ने र देशलाई समृद्ध तुल्याउने हुटहुटी । यसैका लागि युवा आफैं राजनीतिमा विकल्प बनेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको हो । 

४. मेरो राजनीतिक यात्रा

हामीले जहिल्यै भन्ने गरेका छौं कि हामी प्राकृतिक स्रोत साधनमा धनी छौं । हो, हामी धनी छौं तर, हामीले त्यसबाट आर्थिक लाभ लिन सकेका छैनौं किन ? अवसरमा रुपान्तरण गर्न सके हाम्रो रणनीतिक अवस्थिति पनि महत्वपूर्ण छ । तर प्रकृतिले दिएको सुनको थाल बोकेर हामी किन सधैं विदेशीसँग भिख माग्न विवश छौं ? लाखौं लाख युवा देशको शासकीय असक्षमताले विदेशी भूमिमा रगत र पसिना बगाउन बाध्य छन्, किन ? हाम्रा नाबालक सन्तानहरुले उचित शिक्षा र स्वास्थ्यको अवसर पाइरहेका छैनन्, किन ? के अथाह सम्भावना भएको हाम्रो देशमा हाम्रै युवाहरुले सिर्जनशील पाखुरा खियाएर हाम्रै धर्ती स्वर्ग बनाउन सकिँदैन ? 

पक्कै पनि हामी सक्छौं । तर, हामीले सोचे जस्तो नहुनुमा केही कारणहरु छन् । ती कारण हुन् राजनीतिक पार्टीहरुको अपारदर्शी कार्यशैली, अदूरदर्शिता, भ्रष्टाचार एवं सुशासनको अभाव । हो, हामी युवा पुस्ताले यहि विन्दुबाट राजनीतिक सफाई अभियान सुरु गर्नुपर्छ । भ्रष्टाचारको दलदलमा डुबेको राजनीतिलाई उतार्नकै लागि हामी युवा अब राजनीतिक विकल्प बनेर अघि बढ्नुपर्छ । यही दृष्टिकोण र आत्मविश्वास बोकेर म यहाँहरुसँग सहकार्य गर्ने सपना र भिजनसहित राजनीतिक यात्रामा हेलिएको हुँ । 

५. अबको कार्यभार

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भएसँगै हामीले राजनीतिक परिवर्तनको एउटा चरण पूरा गरिसकेका छौं । अब अहिले प्राप्त राजनीतिक उपलब्धिहरुलाई विकास र समृद्धिमार्फत संस्थागत गर्नु नै अबको कार्यभार हो । राजनीतिक परिवर्तनको बेला हामी विभिन्न वाद, विचार र पार्टीहरुमा संगठित भयौं, जुन स्वभाविक पनि थियो । तर, अब त्यो श्रृंखलाले एउटा उपलब्धि हासिल भइसकेपछि अब समृद्धिका लागि सहकार्य आवश्यक छ । मन साँघुरो बनाएर हामी समृद्धिसम्म पुग्न सक्दैनौं । यसर्थ, हामी विकास र समृद्धिका लागि छाती चौडा बनाएर सहकार्यको फराकिलो राजमार्गमा दौडिनैपर्छ । 

हाम्रो भूगोल विविधतापूर्ण छ । बहुभाषा, धर्म, जातजाति, संस्कृति आदिको इन्द्रधनुषी सुन्दरता हाम्रो लागि अभिषाप होइन, बरदान हो । आन्दोलनको समयमा हामीले हाम्रो विरता प्रदर्शन गर्यौं र तानाशाहलाई घोडाबाट खसाल्यौं । अब हामीले गरिबी र विपन्नताविरुद्धको लडाईं लड्नुपरेको छ । गरिबी र विपन्नतालाई इतिहासको पानामा सीमित तुल्याउनुछ । हो, यसका लागि हामीले आफूसँग भएको सुनको थाल चिन्नुछ र त्यसैबाट उद्यमशीलताको विकास गर्नुछ । कृषिको आधुनिकीकरण, वैज्ञानिक र जीवनपयोगी शिक्षा, आम नागरिकमा स्वास्थ्यको पहुँच, व्यवस्थित र वैज्ञानिक पूर्वाधारहरुको निर्माण, पर्यटन, घरेलु र ठूला उद्योगहरुको विकास, खानेपानी र सिंचाईको सुविधा, स्वरोजगार लगायतका परियोजनाहरु युद्धस्तरमा सञ्चालन गर्न अब कार्यकारी तहमा नयाँ पुस्ताको नेतृत्व आवश्यक छ । 

यही आवश्यकता सम्बोधन गर्न भन्दै म चुनावी मैदानमा उत्रिएको छु । यो अभिभारा हामी सबैको एकता, सहकार्य, क्रियाशीलता र सामुहिक प्रतिबद्धताबाट मात्र सम्भव छ । यही सपना, दृढ इच्छा शक्ति र प्रतिवद्धतासहित हामी यहाँहरुको घरदैलोमा आइपुगेका छौं । यहाँहरुसँगको साथ, सहकार्य र सहयोगले नै हामी उज्यालो, समृद्ध र समुन्नत भविष्यतर्फको यात्रा गर्न सक्छौं । 

६. हाम्रो सपना

एउटा आम नेपालीले आफ्नो देशको परिवर्तन र समृद्धिका बारेमा जस्तो परिकल्पना गरेको छ, त्यही नै हाम्रो पनि सपना हो । हामी अहिले परिभाषित गरिए जस्तो सुन्दर र शान्त नेपाल मात्र होइन, हामीले यो देशलाई सुन्दर र शान्तसँगै समृद्ध र समुन्नत नेपाल बनाउने सपना देखेका छौं । नया“ नेपाल, समृद्ध नेपाल, सभ्य र सुशासित नेपाल, भ्रष्टाचारमुक्त नेपाल, खुशी र सुखी नेपाल निर्माण गर्नु नै हाम्रो सपना हो । 

हामीले अहिलेसम्म यो देश बनाउन गरिएका प्रतिबद्धताहरु अनि देखाइएका सपनाहरु किन कार्यान्वयन गर्न सकेनौं ? के हामीलाई नहुने कुराको सपना देखाइएको हो ? के हाम्रो समृद्धिको चाहना पूरा हुनै नसक्ने दन्त्य कथा हो ? के हामी सधैं माग्ने अनि लिने हैसियतमा मात्रै बस्ने हो ? के हामी कम्तीमा आफैंमा निर्भर हुन सक्दैनौं ? हामी पनि अरुलाई दिने हैसियतमा पुग्न सक्दैनौं ? ७० वर्षदेखि बाँडिएका सपना किन पूरा हुँदैनन् ? 
हो, हामी युवापुस्ता अब यसको उत्तर खोज्नेछौं अनि विगतमा गरिएका सबै प्रतिबद्धता अनि आम नागरिकलाई बाँडिएका सपनाको फेहरिस्त संगालेर त्यसलाई प्राथमिकता अनुसार र कार्यक्रमिक रुपमा वास्तविकतामा बदल्ने संकल्प गर्नेछौं र त्यस दिशामा लाग्नेछौं । 

७. हाम्रा योजना र प्राथमिकता

नयाँ शक्ति पार्टीले समृद्धिको डक्ट्रिनको रुपमा अघि सारेको ५ स को अवधारणालाई साकार पारी देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउने नै हाम्रो मुख्य लक्ष्य हो । यो लक्ष्य भेदन गर्नका लागि सबैभन्दा पहिले आन्तरिक राष्ट्रियता बलियो बनाउनुपर्छ । यसका लागि समावेशी समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गरी सबै वर्ग, क्षेत्र, लिंग, जाति, भाषिक एवं सीमान्तकृत समुदायहरुको हक, अधिकार र पहिचान स्थापित गर्ने योजना रहेको छ । यसका लागि नयाँ शक्तिले अगाडि सारेको पूर्ण समानुपातिक व्यवस्थापिका संसदको अवधारणा लागू गर्ने । 

अहिले विकास र समृद्धिको नारा सबैले लगाउने गरेका छन् । सबैले आफ्नो चुनावी क्षेत्रलाई लक्षित गर्दै विभिन्न आकर्षक चुनावी नाराहरु लगाएकै छन् तर, देशको विकास र आम जनताको समृद्धिको चाहनालाई कसैले पनि राजनीतिको मूल एजेण्डा बनाएका छैनन् र त्यो प्राप्त गर्ने दिशातर्फ उन्मुख पनि भएका छैनन् । हिजो हामीले राजनीति र विकासमा कुन पहिला भन्ने सवालमा हामीले निकै समय बहस गर्यौं । कहिले राजनीतिकै कारण देश नबनेको निश्कर्ष निकाल्यौं त कहिले विकासमा राजनीति गर्न हुन्न भन्ने सरल तर्क पेश गरेर बसहलाई बदल्न खोज्यौं । 

यथार्थमा जबसम्म विकास, समृद्धि र प्रगतिका सवाललाई राजनीतिको मूलधारमा स्थापित गरिँदैन, देशलाई समृद्धिको दिशातिर लैजान सकिंदैन भन्ने कुरा अब स्वतः स्पष्ट हुन गएको छ । यसर्थ, विकास र समृद्धिको मुद्दालाई नै राजनीतिको केन्द्रीय विषय बनाएर नयाँ शक्ति पार्टीले यो देशलाई समुन्नत समाजवादको दिशातिर लैजाने लक्ष्य निर्धारण गरेको छ । यसका लागि युवा पुस्ताको भूमिका निर्णायक हुनेछ । 
सबै जसो पार्टीका नेताहरु चुनावमा यो गर्छु र त्यो गर्छु भन्दै सपनाको बिस्कुन लगाउन पछि पर्दैनन् तर, चुनावपछि हामीले आफ्ना जनप्रतिनिधिहरुलाई कहिल्यै देख्न पाउँदैनौं । अनि तिनले गरेको चुनावी प्रतिबद्धता केवल कागजी खोस्टामा परिणत हुन्छन् । फेरी अर्को ४÷५ वर्षमा अर्को चुनाव आउँछ र पुनः पुरानो घोषणापत्रमा केही अपडेट गरी फेरि सपनाको व्यापार गर्न उही पात्र नयाँ स्वरुपमा फेरि हाम्रा घरदैलोमा आइपुग्छन् । 

अनि हामी तिनैलाई भरोसा गर्छौं र तिनकै प्रभावमा परि फेरि उनैलाई निर्वाचित गराइरहेका हुन्छौं । के अब पनि हामी त्यही निरन्तरता चाहन्छौं ? एउटा व्यक्तिबाट कतिसम्म अपेक्षा गर्ने ? हो, यसपटक हामी आग्रह गर्दछौं अब पुरानै चुनावी घोषणापत्रको नयाँ संस्करण लिएर तपाईंको घरदैलोमा आउनेलाई होइन, साँच्चिकै नयाँ केही गर्न खोज्नेलाई चुन्नुहोस् । 

७. मेरा प्रतिबद्धताहरु

म नयाँ शक्ति पार्टी, नेपालको सदस्य र यहाँहरुको उम्मेदवारको हैसियतले यो प्रतिबद्धता गर्दछु कि ः
  • म नेपाली राजनीतिमा परिवर्तन चाहन्छु । यसका लागि म आफैंबाट परिवर्तनको सुरुवात गर्दछु ।  
  • म हरेक मान्छेको सार्वभौमिक स्वतन्त्रतालाई सम्मान गर्दछु र मानव अधिकारको विश्वव्यापी मान्यताबाट निर्देशित छु । 
  • म राजनीतिलाई अस्वस्थ विरोध, गालीगलौज र ध्वंसबाट नभई सकारात्मक पहल, आपसी सम्मान र प्रतिस्पर्धाबाट सु–सज्जित गर्दै उच्च नैतिक आचरण र राजनीतिक निष्ठाप्रति प्रतिबद्ध हुनेछु । 
  • म सामाजिक न्याय, सकारात्मक विभेद, समानुपातिक समावेशी सिद्धान्तमा बिश्वास गर्दै शान्तिपूर्ण अभियान, सुशासन, पारदर्शिता, जवाफदेहिता र विधिको शासनप्रति प्रतिवद्ध छु । 
  • म आफ्नो जीवनशैली सरल, शिष्टतापूर्ण र विनयशील बनाउनेछु । व्यक्तिगत जीवन, राजनीतिक अभियान तथा संगठनका गतिविधिहरु तथा चुनावी अभियानहरु धेरै खर्चिला र तडकभडकपूर्ण बनाउनेछैन ।
  • मेरो लागि राजनीति पेशा नभई सेवा हुनेछ । म जीविकोपार्जनको लागि छुट्टै पेशा, व्यवसाय वा आयआर्जनको अन्य व्यवस्था गर्नेछु । राजनीतिलाई कहिल्यै पनि आर्थिक लाभ लिने माध्यम बनाउनेछैन । 
  • म महिला हिंसा, बालश्रमशोषण, जातीय छुवाछुत, आर्थिक शोषण, बालविवाह, दाईजो, भ्रष्टाचारजन्य गतिविधि, स्थानीय स्रोत साधनको दुरुपयोग, करछली, सरकारी सम्पत्तिको अपचलन कहिल्यै गर्नेछैन साथै यस्तो विषयमा शून्य सहनशीलता अपनाउनेछु ।
  • म आफ्नो राष्ट्रिय गौरव, स्वाभिमान, एकता र पहिचानलाई सदैव उँचो बनाउनेछु, छिमेकी मुलुकहरुप्रति पञ्चशीलका आधारमा सर्वस्वीकार्य मूल्य, मान्यता र सिद्धान्तसहित मित्रवत रहनेछु । 
  • म स्वाधीन, समावेशी, सदाचारपूर्ण, समृद्ध र सुशासित नेपाल बनाउन सदैव प्रतिवद्ध छु ।

८. असल राजनीतिका लागि लगानी !

आसन्न प्रदेश अनि प्रतिनिधिसभाको निर्वाचन देशको संरचनागत परिवर्तनलाई स्थायित्व दिने माध्यम हो । अनि यो राष्ट्रिय पर्व पनि हो, जहाँ प्रत्येक नागरिकले आफ्नो मताधिकारको प्रयोग गर्दछन् । तर, विगतको चुनावी परिदृष्य हेर्ने हो भने ठूला भनिने दलहरुले चुनावलाई आर्थिक रुपले बोझिलो र भड्किलो बनाउने गरेका छन् । अनि आर्थिक प्रलोभनमा पारेर जनमतलाई नै प्रभावित पार्ने अभ्यास व्यापक मात्रामा भए गरेका छन् । म यस्तो प्रवृत्तिको कडा रुपले प्रतिरोध गर्दछु । 

न त राजनीति पेशा हो न त यो आयआर्जनको माध्यम नै । अनि राजनीतिलाई जब पैसाले प्रभावित पार्दछ, निःसन्देह त्यस्तो राजनीतिले भ्रष्टाचारजन्य गतिविधिलाई नै प्रोत्साहित गरेको हुन्छ । जब राजनीतिज्ञले चुनाव जित्नकै लागि ठूलो आर्थिक चलखेल गर्छ, निःसन्देह त्यहाँ भ्रष्टाचारजन्य गतिविधि हुन्छ, हुन्छ । के हामी हाम्रा पिंढीहरुलाई यस्तै राजनीतिक संस्कार दिन चाहन्छौं ? 

त्यसैले म यो पुरानो मान्यता भत्काउन चाहन्छु । नयाँ शक्ति पार्टी, नेपाल असल राजनीतिको नयाँ परिभाषा स्थापित गर्न चाहन्छ । राजनीति स्वयं सेवा हो, हुनुपर्छ र बनाउनुपर्छ । त्यसैले म आह्वान गर्दछु । 
अपारदर्शी र अदृष्य स्रोतबाट संचालित हुने राजनीतिलाई अस्वीकार गरौं
असल र पारदर्शी राजनीतिका लागि लगानी गरौं । 

अब नागरिकले आर्थिक सहयोग होइन, असल राजनीतिमा लगानी गर्नुपर्छ, ताकि त्यस लगानीले असल, पारदर्शी र सुसंस्कारित राजनीतिक अभ्यासयुक्त प्रतिफलको सुनिश्चितता गर्नेछ ।

९. मेरो विश्वास 

अहिले मुलुक भ्रष्टाचार, कुशासन अनि आर्थिक अनियमितताको दलदलमा फसेको छ । यदि राजनीतिक सचेतनासहित असल राजनीतिको अभ्यास हुने हो भने यी र यस्ता अनियमितता अनि असंगतिहरुलाई जरैदेखि उखेलेर फाल्न सकिन्छ । त्यसैले हामी वैकल्पिक राजनीतिको कुरा गरिरहेका छौं । वैकल्पिक राजनीति मूलतः यस्तै असंगति, अनियमितता अनि अपारदर्शिताको विरुद्ध गरिने संघर्ष हो । हामी थिती बसाउन चाहन्छौं । पद्धती बसाउन चाहन्छौं । अनि राजनीतिलाई भ्रष्टाचारजन्य फोहोरबाट बाहिर निकाल्न चाहन्छौं ।

म यहा“हरु समक्ष दूरदृष्टि, प्रष्ट विचार र पारदर्शिताको प्रतीक ‘आ“खा’ चिन्ह लिएर उपस्थित भएको छु । मलाई पूर्ण भरोसा छ कि यहा“हरुले हाम्रो पार्टीको चुनाव चिन्ह ‘एक आ“खा’ मा मतदान गर्नु हुनेछ र मलाई अत्यधिक मतका साथ विजयी गराउनुहुनेछ । साथै हाम्रा पार्टीका समानुपातिकतर्फका उम्मेदवारहरुलाई समेत अत्यधिक मतले विजयी गराउनुहुनेछ । आफ्नो अमूल्य मतद्वारा देशको एकता, समृद्धि र सुशासनको महाअभियानमा योगदान गर्नुहुनेछ र एक विकसित, समृद्ध र समुन्नत नेपालको चित्रलाई साकार तुल्याउनुहुनेछ भन्ने विश्वास लिएको छु । 

१०. मलाई भोट किन ?

म एक युवा हुँ । अहिले राजनीति व्यवसायिकरण भइसकेको छ । अब यो भ्रष्टिकरण हुँदै अपराधिकरणतिर जाने खतरा देखिन्छ । त्यसैले असल राजनीतिको जग बसाल्न र अबको राजनीतिक कार्यभार पूरा गर्नकै लागि युवा पुस्ता राजनीतिमा आउनुपर्छ भन्ने मान्यताले मेरो राजनीतिक यात्रा अघि बढेको हो । 
  • राजनीतिक अस्थिरताको अन्त्यका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणाली स्थापना गर्न
  • भ्रष्टाचार र असंगतिपूर्ण राजनीतिको साटो असल र पारदर्शी राजनीतिक परिपाटी निर्माण गर्न 
  • युवा पुस्ताको सपनालाई साकार पार्न र युवाको आशा र भरोसा कायमै राख्न
  • यस क्षेत्रसहित समग्र प्रदेश अनि देशको समतामूलक÷सहभागितामूलक विकास र समृद्धिका लागि योगदान गर्न
  • स्वच्छ, सफा, हराभरा एवं व्यवस्थित र आधुनिक सहर निर्माण गर्न
  • आम नागरिकको आर्थिक अवस्था फेर्ने अभियानमा योगदान गर्न
  • आम नागरिकको मुहारमा खुुसी भर्न

म आर्थिक विकास, समृद्धि र प्रगतिको प्रतीक आँखा चुनाव चिन्ह लिएर तपाईंहरुको घरदैलोमा आएको छु । आँखा चिन्हमा मतदान गरी हाम्रो र भावी पुस्ताको उज्ज्वल भविष्यसहित समृद्ध राष्ट्र निर्माण गर्ने अभियानमा सहभागी हुन हार्दिक अपिल गर्दछु ।

आँखा दान महादान
त्यसैले गरौं
आँखामा मतदान !

केही नाराहरु

अरुले गर्छन् कुरा, हामी गर्छाैं पूरा 
अबको निकास, आर्थिक विकास
समृद्धि संभव छ, हाम्रै पालामा
नयाँ शक्तिको एउटै लक्ष्य, भ्रष्टाचार र कालोधनको अन्त्य
हामी सबैको एउटै रहर, स्वच्छ र हराभरा सहर
नयाँ शक्तिको घोषित लक्ष्य, गरिबीको समूल अन्त्य ।।
यसपटक नयाँ शक्तिलाई चुनौं, देशको विकास सुनिश्चित गरौं ।।
अब आँखा खोलौं, आँखा चिन्हमा मतदान गरौं ।
हिजो अरुका लागि आँखा चिम्लियौं, आज आफ्नै लागि आँखा खोलौं ।।

x

No comments:

Post a Comment

प्रादेशिक बजेटको शल्यक्रिया

मनिकर कार्की निवर्तमान प्रत्येक आर्थिक वर्ष सरकारले अनुमानित आम्दानी र खर्च विवरणको पुलिन्दाको रुपमा वार्षिक बजेट सार्वजनिक गर्नेगर्छ ।...