अबको वैकल्पिक कार्यदिशा


मनिकर कार्की निवर्तमान
लोकतन्त्रमा राजनीतिक दलहरु जन्मिनु स्वभाविक हो । अनि लोकतन्त्रमा राजनीतिक दलको लागि सबैभन्दा ठूलो पर्व चुनाव नै हो । चुनावमा श्रेष्ठता हासिल गर्नका लागि दलहरुले अनेक कसरत गर्दछन् । यद्यपि त्यस्ता क्रियाकलापले कस्तो राजनीतिक संस्कार निर्माण गरिरहेको छ भन्ने प्रश्न चाहिं महत्वपूर्ण हुन जान्छ । चुनावमा दलहरुबीच हुने ‘प्रि–इलेक्सन एलायन्स’ चुनावी विजयी हासिल गर्ने जमर्को हो । यो तत्कालीन र वस्तुगत आवश्यकता हो । तर, पार्टी एकताको कुरा भने अलि बढी दीर्घकालीन हुन्छ ।
त्यहाँ विचार, दर्शन, सिद्धान्त अनि गन्तब्यको मिलन हुनु जरुरी हुन्छ । अहिले चुनावी गठबन्धन निर्माण गरी चुनावी अभियानमा लागेका दुई ठूला पार्टी नेकपा एमाले र नेकपा माकेबीचको गठनबन्धनमा भने दुवै विषय सँगसँगै घालमेल भएकोले यसको भविष्य के हुन्छ भनेर चुनावी नतिजा र त्यसपछिको मुभलाई नै कुर्नुपर्ने देखिन्छ ।

तथापि जुनसुकै राजनीतिक पार्टीको जन्म निश्चित सैद्धान्तिक आधारमा हुन्छ र त्यसले निश्चित राजनीतिक कार्यदिशाको आधारमा कार्यसम्पादन गर्दछ । नयाँ शक्ति पार्टीको निर्माणसँगै नयाँ शक्ति कस्तो पार्टी हो ? यसको सैद्धान्तिक दर्शन के हो ? यसको राजनीतिक कार्यदिशा के हो ? अनि मुलुकको आर्थिक, सामाजिक, राजनीतिक एवं सांस्कृतिक रुपान्तरणका सन्दर्भमा यो पार्टीका तात्कालीक एजेण्डाहरु केके हुन् ? आम रुपमा यी यावत् विषयहरुमा केही न केही जिज्ञासा पक्कै पनि छ ।

अबको राजनीति समाजको विद्यमान अवस्था र त्यसको ऐतिहासिकता अनि भविष्यको आवश्यकतामा आधारित भएर अघि बढ्नुपर्छ, नकि पुरातन आग्रह र पूर्वाग्रहमा आधारित भएर । हिजो जसरी विश्वलाई आधारभूत रुपमा पूँजीपति वर्ग र श्रमिक वर्गको रुपमा परिभाषित गरिएको थियो र तिनै वर्गलाई प्रतिनिधित्व गर्ने गरी राजनीतिक दर्शनको निर्माण गरियो, त्यो दर्शनले मूलतः दुईवटा वर्गहरुको रक्षा गर्यो – पूँजीपति वर्ग र सर्वहारा श्रमिक वर्ग । तर, आजको विश्वलाई हेर्दा अब विश्व केवल यी दुई आधारभूत वर्गमा मात्रै सीमित देखिएन । २१ औं शताब्दीको ज्ञान, विज्ञान, सूचना र प्रविधिको युगमा विश्व पनि बहुध्रुवीय र बहुवर्गीय बन्दै गएको छ । अनि ती फरक प्रवर्गहरुबीचको सन्तुलन र गतिले नै अस्तित्व प्रदान गर्दछ । यसरी हेर्दा ती फरक प्रवर्गहरुबीचको गतिशील सन्तुलन नै वैकल्पिक राजनीतिक दर्शन हो ।

अब चर्चा गरौं वैकल्पिक राजनीतिक कार्यदिशाको । वैकल्पिक राजनीतिको कार्यदिशा हरेक समाजको आफ्नै आवश्यकता अनुसार फरकफरक हुन सक्छ । युरोपेली समाजमा अभ्यासमा रहेको वैकल्पिक राजनीतिको कार्यदिशा र नेपाली समाजको आजको कार्यदिशाबीच समरुपता नहुनसक्छ । जस्तो कि युरोपेली देशहरुमा वातावरण र प्रकृति यसको मुख्य एजेण्डा हो भने हाम्रो समाजमा आज पनि यो वैकल्पिक राजनीतिको एजेण्डा त हो तर प्रमुख कार्यदिशा बन्दैन । किनकि हाम्रो आर्थिक, सामाजिक अनि राजनीतिक अवस्था त्यो अवस्थासम्म पुगेको छैन । अझै पनि यो तरल छ, यसर्थ यसको व्यस्थापन नै अहिलेको मुख्य कार्यभार हो ।
जुनसुकै समाजमा आर्थिक, सामाजिक, राजनीतिक अन्तरविरोधहरु हुन्छन् र ती अन्तरविरोधहरुको वस्तुगत पहिचान र समाधानका लागि राजनीतिक दलहरु स्थापना भएका हुन्छन् । जहाँसम्म नयाँ शक्तिको कार्यदिशाको कुरा छ, त्यो मूलतः ५ ‘स’ मा आधारित छ । जुन यस प्रकार रहेको छ ।

समतामूलक समृद्धि
अहिलेको नेपाली समाजको मुख्य अन्तरविरोध वा समस्या हो, अगाडि बढेको राजनीतिक चेतना अनि पिछडिएको आर्थिक आधार । हामी राजनीतिक रुपले अगाडि भयांै तर आर्थिक उत्पादनका हिसाबले निकै पछाडि छौं । पटकपटकको राजनीतिक संघर्षबाट अधिकार त पायौं तर, त्यसलाई जनतासम्म पुर्याउनको लागि हामीसँग वितरणको आधार भएन । अर्थात् उत्पादन भएन । जबसम्म हामीसँग वितरणका लागि उत्पादन हुँदैन, ती अधिकारहरु केवल कागजमै सीमित हुनेरहेछ । हो, अहिलेको मुख्य अन्तरविरोध भनेकै यहि हो । हामीले राजनीतिक अधिकार त प्राप्त गर्यौं । तर, हाम्रो अर्थतन्त्र यति पिछडिएको छ कि त्यसको विकास नगरेसम्म संविधानप्रदत्त राजनीतिक अधिकारहरुको उपयोग पनि हुन सक्दैन र तिनको संरक्षण पनि संभव छैन । यसर्थ, यसलाई समाधान गर्नका लागि नै नयाँ शक्तिले समतामूलक समृद्धिको कुरा गरेको छ । ‘अबको निकास आर्थिक विकास’, ‘समृद्धि संभव छ हाम्रै पालामा’ जस्ता नारालाई सार्थक बनाउन सकिएको खण्डमा यो अन्तरविरोधको हल हुनेछ ।

समानुपातिक/समावेशी लोकतन्त्र
नेपाली समाजको अहिलेको अर्को समकालीन अन्तरविरोध लोकतन्त्रको आवश्यकता र अभ्यासमा देखिएको अन्तरविरोध हो । जब समाज बहुवर्गीय र बहुध्रुवीय हुँदैछ भने त्यहाँ राजनीतिक हक, अधिकार र पहिचानका मुद्दाहरु मुखरित हुन्छन् । अहिलेको समकालीन राजनीतिमा तिनै मुद्दाहरु हावी भएका छन् । तर, व्यवहारतः हामीले औपचारिक वा कर्मकाण्डी खालको लोकतन्त्रमार्फत ती मुद्दाहरुलाई समाधान गर्ने चेष्टा गरिरहेका छौं । हो, यहिंनेर अर्को अन्तरविरोध देखा पर्दछ । अर्थात् लोकतन्त्रको समृद्धिकरण कसरी गर्ने भन्ने सवाल नै वर्तमानको मुख्य समस्या हो ।

हामीले अहिलेसम्म औपचारिक लोकतन्त्रको व्याख्या गर्यौं तर, त्यो लोकतन्त्रलाई कसरी समावेशी बनाउने र कसरी सहभागितामूलक बनाउने अनि कसरी उन्नत बनाउने ? भनेर कहिल्यै बहस गरेका छैनौं । फलस्वरुप हाम्रो यो औपचारिक खालको लोकतन्त्रले गरिखान सकेन । त्यसैले अब लोकतन्त्रकै समृद्धिकरणका लागि यो अन्तरविरोधको हल गर्दै विशिष्ट प्रकृतिको समानुपातिक, सहभागितामूलक अनि समावेशी लोकतन्त्रको अभ्यास गर्नुपर्छ ।

अनि यहिँनेर जनताको प्रत्यक्ष सहभागितामा आधारित हुने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीसहितको शासकीय स्वरुप र पूर्ण रुपेण समानुपातिक प्रतिनिधित्वको संसद नै विशिष्टिकृत लोकतन्त्रको आधार हो र हुनेछ । यो लोकतन्त्रले हक अधिकार र पहिचानका मुद्दालाई समेत मुख्यगरी तीनवटा जातीय क्लस्टर (आर्य–खस, मधेशी–थारु र आदिवासी–जनजाति) को आधारमा वैज्ञानिक रुपले समाधान गर्नेछ । त्यसमा उत्पीडनमा परेका दलित, महिला, मुस्लिमलगायत अल्पसंख्यकहरुसमेतको प्रतिनिधित्व सुनिश्चित हुनेगरी प्रनिधित्व गर्नुपर्छ ।

स्वाधीनता/सार्वभौमिकता
समकालीन समाजको अर्को मुख्य अन्तरविरोध भनेको नेपालको विद्यमान भू–राजनीतिक जटीलता, भूमण्डलीकरण र राष्ट्रिय हितबीचको अन्तरविरोध हो । यसै पनि इतिहासदेखि नै नेपाललाई दुई ढुंगाबीचको तरुलको रुपमा व्याख्या गरिंदै आएको छ । अनि हिनाताभावयुक्त त्यही तरुल दृष्टिकोणले नै यो अन्तरविरोधको जन्म भएको हो । यसर्थ, अब यो अन्तरविरोधलाई हल गर्नका लागि नेपाललाई पारम्परिक रुपले भनिएझैं दुई ढुंगाबीचको तरुल होइन परन्तु दुई ठूला अर्थतन्त्रबीचको पुलको रुपमा प्रतिविम्बित गर्नुपर्छ । नेपाल यसैपनि दुई ठूला देश भारत र चीनबीचको भूराजनीतिक जटिलतामा छ । यसर्थ, हामीले आफ्नो राष्ट्रियता र स्वाधिनताको रक्षा गर्दै यी दुईवटै देशको आर्थिक विकासबाट लाभ लिनसक्नुपर्छ । यसरी छिमेकी मुलुकबाट लाभ लिनको लागि कुनै एक अमूक छिमेकीलाई नजिक र अर्कोलाई टाढा होइन, दुवैसँग रणनीतिक सन्तुलन मिलाएर समृद्धितर्फ अग्रसर हुनुपर्छ ।

यसरी छिमेकीसँगको सन्तुलित सम्बन्धसँगै मुलुकको बृहत्तर आर्थिक हितका लागि सबैभन्दा पहिले मुलुकको आन्तरिक राष्ट्रियता मजबुद् बनाउनुपर्छ । अनि आन्तरिक राष्ट्रियता बलियो पार्नका लागि सतहमा उठेको पहिचानको मुद्दालाई सहभागितामूलक र समावेशी लोकतन्त्रको माध्यमबाट सम्बोधन गर्ने र माथि उल्लेख गरिएका तीन जातीय क्लस्टरबीच राष्ट्रिय एकता कायम गरेर आन्तरिक एकता मबजुद बनाउनुपर्छ । अब पनि त्यही अन्तरमुखी र निरिह प्रकारको मानसिकतालाई बोकेर हामी वैश्विक अर्थराजनीतिक रंगमञ्चमा उभिन सक्दैनौं । यसकारण आन्तरिक राष्ट्रियता बलियो बनाउँदै दुई ढुंगाबीचको तरुल मानसिकतालाई तोडेर दुई ठूला अर्थतन्त्रबीचको गततिशील पुल बनेर आर्थिक समृद्धि हासिल गर्नुपर्छ । यसर्थ, यसको समाधान स्वाधीनता र सार्वभौमसत्ताको सम्वद्र्धन र प्रवद्र्धन नै हो ।

सुशासन/सदाचार
हामी जहिल्यै सिद्धान्ततः सदाचार र सुशासनका कुरा गर्दछौं तर, व्यवहारतः हाम्रो आचरण भ्रष्ट भइदिन्छ । हामी सधैं एउटा आदर्श समाज र राज्यको कल्पना गर्न पुग्दछौं तर, आफैं ससानो अवसरमा लोभिन्छौं र आफू र आफ्नो घरपरिवार अनि आफ्नै वरिपरीका मान्छेहरुका आवश्यकताले घेरिन पुग्दछौं । परिणामतः हामी कुनै न कुनै भ्रष्टाचारजन्य गतिविधिमा फस्न पुग्दछौं । यसर्थ, अर्को मुख्य अन्तरविरोध हो, सुशासित राज्य÷सफा राजनीतिको आवश्यकता र भ्रष्ट राज्ययन्त्र÷राजनीतिबीचको अन्तरविरोध । अहिलेसम्मको राजनीतिक अभ्यास हेर्दा नारामा भ्रष्टाचाररहित सुशासित अनि चरित्रवान् आदर्श राजनीति अनि व्यवहारमा प्रदूषित र स्खलित राजनीतिकै संरक्षण गर्ने दैध चरित्र प्रदर्शन गर्यौं ।

यसर्थ, यसको अन्त्य नगरेसम्म मुलुकको विकास संभव छैन । किनकि भ्रष्टाचार यस्तो रोग हो, जसले व्यक्ति, परिवार, समाज अनि राष्ट्रलाई नै संकटमा पुर्याइदिन्छ । यसर्थ, भ्रष्ट बन्दै गएको राजनीतिको समाधान भनेको नै व्यवहारतः सुशासन र सदाचारयुक्त स्वच्छ र सफा अर्थात् क्लीन पोलिटिक्स हो । यसका लागि राजनीतिलाई पेशा होइन आंशिक स्वयम् सेवाको रुपमा ग्रहण गर्नुपर्दछ । यदि यो चुनौतिपूर्ण काममा सफलता हासिल हुनसक्यो भने नयाँ शक्तिले साँच्चिकै राजनीतिको पारम्परिक व्याख्या र बुझाइलाई परिवर्तन गर्न सक्षम हुनेछ ।

समुन्नत समाजवाद  
पाँचौं अर्थात् अन्तिम अन्तरविरोध भनेको यहाँका राजनीतिक दलहरुले ग्रहण गरिरहेका वैचारिक एवं सैद्धान्तिक जडता र बदलिएको वस्तुगत परिस्थिति र राजनीतिक चेतनाको अन्तरविरोध हो । अहिले हाम्रो समाजमा जेजस्ता वैचारिक एवं राजनीतिक दर्शन र दृष्टिकोणहरु विद्यमान छन् ती कुनै न कुनै रुपमा पारम्परिक जडतामा आधारित छन् । किनकि हाम्रो राजनीतिको सुरुवात नै समाजको वस्तुगत आवश्यकतामा होइन किन्तु कुनै अमूक दर्शन या सिद्धान्तमा आधारित भयो । हो, हामीले अहिलेसम्म दर्शनमा राजनीति गर्यौं । तर, समाजलाई र जनताको जीवनस्तरलाई बदल्ने प्रकारको दर्शनको खोजी गरेनौं बरु प्रकारान्तरले त्यस्तो खोजीको चेष्टालाई दुत्कारिरह्यौं । अनि हामीले समाजको अवस्था, परिवर्तनको गति र नियम, समाजको वस्तुगत आवश्यकता बुझ्न सकेनौं ।

मान्छेका चाहना र आवश्यकता अगाडि तर, हाम्रो चिन्तन प्रणाली निकै पछाडि पर्न गयो । अब त्यही दर्शन र वादलाई व्यवहारतः लागू गर्ने बेला आएको छ । यस मानेमा नयाँ शक्तिले लिएको सन्तुलित हुँदै अगाडि बढ्ने र समुन्नत समाजवादको दिशातर्फ उन्मुख हुने रणनीतिक कार्यदिशा साँच्चिकै वैकिल्पक विचार हो । विगतका रुढ अनि शास्त्रको रुपमा परिभाषित भएका विचार र दृष्टिकोणलाई नै बोकेर हिंड्नुको साटो बदलिएको वस्तुगत यथार्थ र वर्तमान अपेक्षाकाबीच तालमेल मिलाउँदै अग्रगामी फड्को हान्ने राजनीतिक दर्शन अहिलेको अपरिहार्य आवश्यकता पनि हो । अनि पारम्परिक होइन आर्थिक समृद्धिसहितको समुन्नत समाजवादसम्म पुग्ने रणनीतिक कार्यदिशा पनि आजको वैकल्पिक कार्यदिशा नै हो ।

नयाँ शक्तिले प्रतिबद्धता जनाएका यी कार्यदिशा लागू गर्न, जनताका आवाजलाई मुखरित गर्ने सामाजिक अभियानहरु संचालन गर्ने र समृद्धिमुखी राजनीति गरी आम नागरिकको अवस्था फेर्ने नै यसको मुख्य राजनीतिक लाइन हो । अनि हरेक व्यक्ति र यसका अभियन्ताहरु आर्थिक, सामाजिक, सांस्कृतिक निजी र पारिवारिक जीवनमा पनि खुल्ला र पारदर्शी बनेर अघि बढ्ने नै यसको वैकल्पिक संस्कृति हो ।

No comments:

Post a Comment

प्रादेशिक बजेटको शल्यक्रिया

मनिकर कार्की निवर्तमान प्रत्येक आर्थिक वर्ष सरकारले अनुमानित आम्दानी र खर्च विवरणको पुलिन्दाको रुपमा वार्षिक बजेट सार्वजनिक गर्नेगर्छ ।...