करिष्माको राजनीतिक ‘करिष्मा’

शब्द/तस्बिर : मनिकर कार्की

नयाँ शक्तिको हिमाल, पहाड, तराई–मधेश अभियान अन्तर्गत बर्दिवासमा सभा सुरु हुनै लाग्दा केही स्थानीयको जिज्ञासा थियो –‘यहाँ करिष्मा पनि आउने रे हो ?’ कार्यक्रममा अभिनेत्री करिष्मा मानन्धरको आगमनको कुनै सूचना नपाएको मैले भनिदिएँ – ‘होइन, आउने कुनै जानकारी छैन ।’


अभियान बर्दिवासबाट रौतहटको चन्द्रनिगाहपुर, रुपन्देहीको भैरहवाहुँदै बाँकेको कोहलपुरमा पुग्यो ।

कोहलपुरमा आमसभाको उत्तरार्धतिर उद्घोषकले एकाएक उद्घोष गरे –‘आदरणीय जनसमुदाय, तपाईंहरु समक्ष प्रस्तुत हुनका लागि चर्चित अभिनेत्री करिष्मा मानन्धर काठमाडौंबाट प्रस्थान गरिसक्नुभएको छ, अबको केही क्षणमा उहाँ यो सभामा आइपुग्नुहुनेछ ।’

दर्शकदीर्घाबाट गडगडाहट ताली गुञ्जीयो ।

तर, उनी आइपुग्दा सभा समापन भइसकेको थियो । त्यसैले करिष्मालाई हेर्न उत्सुक भीडले त्यहाँ उनीसँग साक्षात्कार गर्न पाएन ।

धनगढीको कार्यक्रममा प्रमुख अतिथी पार्टीका संयोजक डा. बाबुराम भट्टराईसँगै उनी देखा परिन् ।

प्रमुख अतिथीको परिचय पश्चात् जब उद्घोषकले परिचित भइदिनको लागि करिष्माको नाम उच्चारण गरे दर्शकदीर्घाबाट उस्तै ताली गुञ्जीयो ।

नयाँ शक्ति पार्टीको सांस्कृतिक विभाग प्रमुखसमेत रहेकी प्रख्यात अभिनेत्रीको जब बोल्ने पालो आयो उनले ‘यो मन त मेरो नेपाली हो’ बोलको गीतबाट आफ्नो मन्तव्य सुरु गरिन् ।

उनले सभालाई सम्बोधन गर्दै देशको समृद्धिका लागि एकता आवश्यक रहेकोले नयाँ शक्तिले त्यही हिमाल, पहाड, तराई मधेशबीचको एकता बलियो बनाउन अभियान संचालन गरेको बताइन् ।

‘हामीले दुनियाँको समृद्धिलाई आफ्नै हातको मोवाइलबाट हेरिरहेको अवस्थामा आफ्नो देश पनि त्यस्तै होस् भन्ने चाहना आम मानिसको रहेको छ’ उनले भनिन् – ‘देशलाई त्यही तहको विकास र समृद्धिमा पुर्याउनु आवश्यक छ, जसको पहल नयाँ शक्तिले गर्नेछ ।’

उनले आम जनतालाई विगतमा आफूले चुनेका नेताहरुले काम नगरेको तर्क गर्दै अब नेतृत्व छान्दा योग्य व्यक्तिलाई रोज्न समेत आग्रह गरिन् ।

अभिनेत्री करिष्माले विगतमा हाम्रै जस्तो अवस्थामा रहेका देशहरुले गरेको प्रगति सुनाउँदै अबको लक्ष्य आर्थिक विकास र समृद्धि रहेकोमा जोड दिइन् ।

सिंहापुर, मलेशिया, कोरियाले छोटो समयमा समृद्धिको फड्को मारेका तथ्य उल्लेख गर्दै भनिन् – ‘हामीले पनि त्यो समृद्धि हासिल गर्नका लागि नयाँ शक्तिले समृद्धिको एजेण्डा उठान गरेको हो ।’

नयाँ शक्तिकै घोषणासभामा कार्यक्रमको उद्घोषण गर्दा केही कमजोरी भएकोमा पार्टीभित्र र बाहिरबाट पनि आलोचित बनेकी उनले राजनीतिक यात्राका यी यो समाज र देशको सेवा गर्नकै लागि आफू राजनीतिमा होमिएको सुनाउँदै यो छोटो अवधिमा उनले निकै आरोह अवरोह भोगेको समेत सुनाइन् ।

‘मलाई धेरैले राजनीतिको र पनि थाहा नभएको मान्छे भन्ने गर्दथे’ उनले अनुभव सुनाइन् ‘म आफू भ्रष्टाचारमा डुबेको फोहोरी राजनीतिको र होइन, सुशासनयुक्त राजनीतिको र बुझ्न चाहन्छु ।’

आफूप्रतिको विगतको तीखो टिप्पणी र कटाक्ष सम्झँदै उनले ‘भनिन् म बुझेर जानेर होइन, राजनीतिमा सिक्न आएको हो, सिक्दैछु ।’

मन्तव्यको अन्त्यमा आफू अभिनित कुनै चलचित्रको गीत ‘तिम्रो त्यो आँखामा को बस्छ, तिम्रो त्यो मुटुमा को बस्छ’को अंश सुनाउँदै आफ्नो मुटुमा ‘नयाँ शक्ति’ बसेको उद्घोष गर्दा उपस्थित जनसमुदायबाट निकै ठूलो गड्गडाहट ताली पाइन् ।

काठमाडौंको पार्टी घोषणासभादेखि धनगढीको आमसभासम्म आइपुग्दा करिष्माले फिल्मी दुनियाँमा जस्तै राजनीतिक जीवनमा पनि एकखालको करिष्मा नै गरेको महशुस भएको छ ।
Published on sajhapost.com

No comments:

Post a Comment

प्रादेशिक बजेटको शल्यक्रिया

मनिकर कार्की निवर्तमान प्रत्येक आर्थिक वर्ष सरकारले अनुमानित आम्दानी र खर्च विवरणको पुलिन्दाको रुपमा वार्षिक बजेट सार्वजनिक गर्नेगर्छ ।...