बुटवल आगमन र लेखनयात्रा

अनुभूति
२०६३ सालको माघतिरको कुरा हो । भर्खरै स्नातक सकेर स्नातकोत्तर तह अध्ययनको तयारी चल्दै थियो । राजधानीमा तत्कालीन नेकपा माओवादीले संचालन गरेको १० वर्षे जनयुद्धको जगमा सम्पन्न २०६२।६३ को राजनीतिक परिवर्तनको सरगर्मी ताजै थियो । म त्यसै राजनीतिक परिवर्तनको सेरोफेरोमा भर्खरै स्नातक अध्ययन सकेको अनि राजनीतिप्रति चाख राख्ने केटो नै थिएँ । अनि आन्दोलनको वरिपरीबाट नजानिंदो तरिकाले राजनीतितिर आकर्षित हुँदै पनि थिएँ ।
अचानक बुटवलको एउटा वित्तीय संस्थामा काम गर्ने अवसर आयो । बुटवल आउनु अघि केही साथीभाइ तथा अन्य इष्टमित्रहरुसँग सामान्य सल्लाह गर्दा कतिपय साथीहरुले बुटवल आउने कुरालाई ‘उल्टो यात्रा’को संज्ञा पनि दिए । शायद जुन बेला म बुटवल आउँदै थिएँ, त्यो बेला काठमाण्डू जानुपर्ने बेला थियो, उमेर र अवसरका कारण । नढाँटी भन्नुपर्दा ०६३ सालसम्म थानकोटको नाका काटेर काठमाण्डूबाट पश्चिम टेकेको पनि थिइंन मैले । जन्म रामेछापको भए पनि २०५० सालदेखि नै काठमाण्डूको बसाई थियो ।
अनि नजिकको सहरै काठमाण्डू भएपछि हामीलाई अन्यत्र जानुपर्ने बाध्यता पनि थिएन शायद । गए उही मधेशतिर हो । एक प्रकारले भन्ने हो भने काठमाण्डू बाहिर बस्ने र त्यहाँको वातावरण अनि समाजसँग प्रत्यक्ष संवाद गर्दै जीवनमा केही नयाँ सिक्न सधैं लालायित हुन्थें म । शायद मलाई काठमाण्डू छाड्न यो उपयुक्त मौका हुनसक्छ भनेरै मैले कतिपय आफन्त र इष्टमित्रहरुको सल्लाह विपरित नै मैले बुटवल आउने निश्चय गरेँ ।

हो, २०६३ मा बुटवलको लागि केन्द्रीय राजधानी छाड्दा अलिकति खिन्नता पनि भएकै हो । कतै साँच्चिकै उल्टो बाटो त हिंडिएन भन्ने पनि लागेकै हो । तर, अहिले आएर महशुस हुन्छ वास्तवमा साँच्चिकै यो देशको भूगोल र यहाँको सामाजिक विविधतासँग प्रत्यक्ष अन्तरक्रिया गर्न रुचि राख्ने मेरालागि काठमाण्डू छाड्ने निर्णय साँच्चिकै सहि रहेछ । यो त भयो बुटवल आगमनको संक्षिप्त पाटो ।
अब लेखनको संक्षिप्त पाटोतिर जाने अनुमति चाहन्छु । देश त्यो बेला पनि संक्रमणको उत्कर्षमै थियो । माओवादी नेतृत्व भर्खरैमात्र सार्वजनिक भएको थियो । उनीहरुको हर कुरा अनुकरणीय लाग्दथे । अनि मुलुकमा संविधानसभाको चुनावको कुरा चल्दै थियो तर, चुनावको मिति पटकपटक सरेको थियो । अनि क्रमिक रुपमा हक, अधिकार र पहिचानका आवाजहरु मुखरित हुँदैथिए ।  अझ साँच्चिकै भन्दा देश पूरै माओवादीमय बनेको थियो, त्यो बेला । स्वभावैले माओवादीबाट सबैले निकै ठूलो अपेक्षा पनि गरेका थिए । माओवादीले साँच्चिकै परिवर्तन र समृद्धिका एजेण्डा बोकेको थियो । अनि सँगै धेरैको आशाको भारी पनि ।
‘गाउँबाट सहर फेर्न आएकाहरु’ भनेर माओवादी नेताहरुको प्रशंसाका पुलिन्दा रोज अखबारी लेखनका विषय जो बन्थे । युद्धका गाथा र लडाईं मोर्चाका कथाहरुले अखबारका पाना रंगीन हुन्थे । म पनि युवावस्थामा प्रवेश गरेको जोशिलो युवा थिएँ । पक्कै पनि राता र ताता कुराले असर नगर्ने कुरै भएन । अनि त माओवादीले उठाएका परिवर्तन र समृद्धिका नाराले आकर्षित गर्ने नै भए । मेरा समकक्षी सबै जसो साथीहरु हामी माओवादीले अब साँच्चिकै केही गर्छ भनेरै आकर्षित भएका थियौं । शायद हामी मात्र होइन जनताको ठूलो पंक्ति माओवादीप्रति त्यसैगरी आकर्षित भएको थियो । यसै पृष्ठभूमिमा बुटवल आगमनसँगै मेरो बिल्कुल नयाँ अध्याय सुरु भयो, लेखनयात्रा ।
त्यसो त पहिलोपटक २०६२।०६३ सालको आन्दोलनकै वरिपरी आफ्नै नाममा काठमाण्डूबाट प्रकाशित हुने दैनिक पत्रिकामा पाठकपत्र छापिंदा खुसीले तिनहात माथि उफ्रिएको थिएँ । बुटवलमा पहिलोपटक मेचीकाली दैनिकमा पाठकपत्रकै रुपमा पहिलो लेख छापिंदा गर्वले छाती चौडा भएको थियो । हो, बुटवलमा लेखन यात्राको सुरुवातको साथी मेचीकाली दैनिक भएको थियो । सुरुसुरुमा पत्रिकामा आफ्नो नाम आओस् भन्नकै लागि लेख्न सुरु गरियो । जब लेख्दै गइयो, क्रमशः यो एक प्रकारको नशा जस्तै हुँदो रहेछ । नलेख्दा के के न छुटे जस्तो । कसैले किन नलेखेको भनेर सोधिहाल्छ कि भनेजस्तो । आखिर मनको लड्डुन हो जति खाए पनि नसकिने ! लेख्दै जाँदा मेचीकालीपछि तत्कालीन बुटवल टुडेका सम्पादक वसन्त पोखरेलसँग भेट भयो र उहाँले बुटवल टुडेमा लेख्न आग्रह गर्नुभयो । उहाँकै आग्रह अनुसार मेरा लेखहरु बुटवल टुडेबाट प्रकाशित हुन थाले ।
अनि बरा यो लेख्नेहरुका लागि कसैले पढें भनिदियो भने असाध्यै खुसी लाग्ने रहेछ । मलाई पनि सुरुसुरुमा त्यस्तै हुन्थ्यो । अहिले आएर कतै मान्छेले त्यत्तिकै पढें भन्दा रहेछन् कि जस्तो पनि लाग्छ । जेहोस्, बुटवलमा मलाई परिचय दिलाउने साधन भने मिडिया नै बन्यो । बुटवल टुडे स्तरोन्नति हुँदै जब दैनिकपत्र बन्यो, त्यसपछि काठमाण्डूमा पनि आफ्ना लेखहरु पढेको कुरा कतिपय त्यहाँका साथीहरुले भन्न थाले । अनि त के चाहियो ? लेखन भन्ने कुरा संसारकै ठूलो कुरा रहेछ जस्तो पो लाग्न थाल्यो त । आखिर भ्यागुताले पनि कुवालाई नै संसार ठान्ने न हो, उसलाई संसार ठूलो होस् कि सानो के चासो ? अनि त्यसको ज्ञान नै किन चाहियो र ? लेखक भएर चिनिंदा त आफू पनि विशिष्ट नै भइयो कि जस्तो पो लाग्ने । बरा, केटौले उमेरको लघुबुद्धि न हो ।
०६८ सालसम्म लेखनसँगै वित्तीय संस्थाको जागिर पनि यथाथत थियो । वित्तीय संस्थाले कहिल्यै पनि मेरो लेखनप्रति टिप्पणी गरेन । वित्तीय संस्थाका सहकर्मी साथीहरुले पनि लेखनको सराहना नै गरे । यसले लेख्नका लागि ऊर्जा प्राप्त भइनैरह्यो । अनि लेख्ने क्रममा संस्थागत रुपमा पनि सहयोग नै प्राप्त भइरह्यो । तर, आफूलाई कता कता वित्तीय संस्थामा बसेर लेखनलाई स्वतन्त्र ढंगले लैजान नसकिने कुराले छोइनैरह्यो र हठात् वित्तीय संस्थाको जागिर छाडें, स्वतन्त्र भएर लेख्नकै लागि ! लौ फेरि अर्को जोशिलो केटौले बुद्धि ।
झण्डै दुई वर्ष जति केही नयाँ सृजन ागर्न सकिन्छ कि भनेर यताउता डुलिहिंडे । तर, भनेजस्तो सहज भएन । जसै जागरि छाडियो, आर्थिक दुर्दिन पनि सँगै सुरु हुन थाले । अब भने आर्थिक परिस्थिति पनि प्रतिकूल हुने छाँट देखिएपछि अध्यापन सुरु भयो । अध्यापनले जिविका धान्न सजिलो भयो र अन्य समय लेखनमै बित्यो । यसै क्रममा अचानक दैनिकपत्रसँग औपचारिक रुपमा आवद्ध हुने प्रस्ताव आयो । त्यसले मिडिया व्यवस्थापनको विषयमा पनि प्रयोगात्मक ज्ञान हासिल हुने र स्वतन्त्र रुपमा आफ्नो लेखनलाई पनि अझ अगाडि बढाउनलसकिने ठानेर बुटवल मिडियाकोे प्रमुख सञ्चालन अधिकृतको जिम्मेवारी सम्हाल्न पुगें ।
त्यसयता बुटवल मिडियाले संस्थागत विकास गर्ने क्रममा पत्रिका मर्जरको सफल प्रयोग पनि गर्यो । शायद पत्रिकाहरुबीचको एकीकरणको विषय नेपाली पत्रकारिताकै इतिहासमा एउटा नयाँ प्रयोग हुन गयो । त्यसयता यो प्रकाशन गृहबाट दैनिकपत्र दैनिक, जनसंघर्ष साप्ताहिक र स्वाधीन मासिकको प्रकाशन भइरहेको छ । यसमा मासिकको प्रकाशन नियमित हुन नसके पनि दैनिक र साप्ताहिक भने नियमित रुपमा प्रकाशित भइरहेका छन् । दैनिकपत्रसँग प्रत्यक्ष आवद्ध भएसँगै मैले पत्रकारिता र मिडिया व्यवस्थापनका अन्तरवस्तुहरुको बारेमा प्रयोगात्मक ज्ञान हासिल गर्न सफल भएँ । साथै यो अवधिमा मैले आफ्नो लेखनलाई पनि स्वतन्त्र र निर्भिक ढंगबाट अघि बढाउन सकें ।
शायद यो नै मेरो लेखनयात्राको उपलब्धिमूलक पक्ष पनि हो जस्तो लाग्छ । प्रकाशन गृहका अध्यक्ष, संचालक, प्रधान सम्पादक, वरिष्ठ सम्पादक, सम्पादक, पत्रकार तथा कर्मचारीहरुबाट लेखनकै क्रममा पनि निरन्तर हौसला पाइनैरहें, जसले मलाई असीम ऊर्जा प्राप्त भएको अनुभूति भएको छ । आज यो पंक्ति तयार गर्दैगर्दा यो अखबारले ११ औं वर्ष पार गरी १२ औं वर्ष प्रवेश गर्दै छ । यसको उमेरको आधाभन्दा बढी समयदेखि म पनि कुनै न कुनै रुपमा यो पत्रिकासँग जोडिएको छु र आज मेरो लेखनलाई यही अखबारले तिखार्ने काम गर्यो भन्दा निकै गर्व लागेको छ ।
वित्तीय संस्थाको जागिर छाडेर मिडियातिर लाग्ने थोरै व्यक्तिहरु मध्ये म पनि एक थिएँ शायद । मलाई मिडियातिर आकर्षिक गरेको मेरो लेखनले नै हो । र,  मिडियामा प्रत्यक्ष रुपले कार्यकारी भूमिकामा संलग्न भएको ३ वर्ष बित्दै गर्दा अब म फेरि नयाँ भूमिकामा देखिँदै छु । सबैभन्दा ठूलो कुरा समय नै रहेछ । र, समयले कहिलेकाहीं फरक भूमिकाको खोजी पनि गर्ने रहेछ । जेहोस् म आगामी दिनहरुमा जुनसुकै भूमिका र जिम्मेवारीमा रहे तापनि विगतमा जस्तै मेरो लेखन यात्रा निरन्तर जारी रहनेछ । किनकि यो नामसँगको सम्बन्ध स्थापित गर्ने लेखन नै हो र त्यसको माध्यम मिडिया नै हो । ११ औं वार्षित्कोषवको अवसरमा दैनिकपत्रलाई शुभकामना ।

मनिकर कार्की निवर्तमान
२०७२, मंसीर ११ गते दैनिपत्रमा प्रकाशित

No comments:

Post a Comment

प्रादेशिक बजेटको शल्यक्रिया

मनिकर कार्की निवर्तमान प्रत्येक आर्थिक वर्ष सरकारले अनुमानित आम्दानी र खर्च विवरणको पुलिन्दाको रुपमा वार्षिक बजेट सार्वजनिक गर्नेगर्छ ।...