‘राष्ट्रवाद’को एकांगी राग







मनिकर कार्की निवर्तमान
आज पुस २७, अर्थात् पृथ्वी नारायण शाहको जन्म दिन, जुन दिनलाई ‘पृथ्वीजयन्ती/राष्ट्रिय एकता दिवस’ भनी मनाउने चलन छ। २०६२/०६३ को आन्दोलनले ल्याएको राजनीतिक परिवर्तनसँगै यो दिनमा विगतमा दिईंदै आएको सार्वजनिक विदा भने कटौति गरिएको छ। यद्यपि अहिले कतिपयको माग यस दिनको सार्वजनिक विदा कायम गरियोस् भन्ने छ।

यो दिनलाई लिएर इतिहासका अध्येताहरुबिच पनि केही मतभिन्नताहरु छन् अनि तीनै मत भिन्नताको शृङ्खला अहिले सार्वजनिक बहसमा ओर्लिएको छ । पक्ष र विपक्षमा बहस पैरवी सुरु भएको छ । यद्यपि लिखत मै सहि, अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका सार्वभौम नागरिक भएका छौं । त्यसैले गणतन्त्र घोषणा कै दिन खासमा ‘राष्ट्रिय एकता दिवस’ हो नि, कुनै एक अमूक शासकको जन्मदिनलाई कसरी राष्ट्रिय एकता दिवस मान्ने ? माथिको बहसमा यो प्रश्न पनि सँगै जोडिएको छ ।

अनि लौ पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै उनलाई नै राष्ट्रिय एकताको आधार मान्दा पनि उनी व्यक्ति पृथ्वीनारायणलाई मान्ने कि उनको कामलाई ? यदि कामलाई मान्ने हो भने अहिलेको नेपालको भूगोल कायम हुने क्रममा गोर्खा राज्यले अन्तिम पटक विजयी प्राप्त गरेको दिनलाई ‘राष्ट्रिय एकता दिवस’ घोषणा गर्नुपर्यो । जहाँसम्म पुस २७ को कुरा छ, यो चैं बढी व्यक्तिपूजन नै हो । इतिहासमा खास शासकीय स्वार्थ पूर्ति गर्नका लागि चलाइएको प्रचलन हो भन्दा अत्युक्ति नहोला ।

यद्यपि यो आलेखमा राष्ट्रिय एकता दिवस मुख्य चर्चाको विषय भने होइन । यसमा खासगरी लेखिएका–लेखाइएका, पढिएका–पढाइएका इतिहासहरु कति पूर्ण हुन्छन् ? ती कति सत्यतथ्यको नजिक हुन्छन् ? तिनमा कत्तिको जनविश्वास गढेको हुन्छ ? तिनले कसरी शासकीय स्वार्थ पूरा गरेका हुन्छन् ? यस्तै विषयमा केही जिज्ञासा छाड्ने प्रयत्न मात्र हो ।

पृथ्वी नारायण शाह को थिए, को थिएनन् ? के हुन् के हैनन् ? यो विषयमाथिको बहस इतिहासकारहरुलाई नै छाडिदिउँ । यत्ति धक फुकाएर भन्न सकिन्छ कि उनी तत्कालीन समयका एक कुशल, रणनीतिक रुपले चार्तुय योद्धा र सूरा शासक थिए । सत्ताको उत्कट महत्वकांक्षा बोकेका एक लडाकू शासक थिए । उनको गोर्खा राज्य त्यो बेला कमजोरहरुकै प्रतिनिधित्व गर्ने राज्य थियो । आफ्नो राज्यको त्यो बेलाको गरिबी र निम्न अवस्थाबाट माथि उक्सिने अनेकन उपाय मध्ये उनले गोर्खा साम्राज्यको विस्तारलाई अंगिकार गरे । अनि त्यो बेलाको आवश्यकता पनि भूगोल विस्तार गर्ने नै थियो । भूगोल जोडेर ठूलो राज्य हुँदा शक्ति बढ्ने हुँदा सबैले आफ्नो क्षमताले भ्याएसम्म राज्य विस्तारमै ध्यान दिन्थे । अनि राज्यहरुको निर्माण र विनिर्माण, विस्तार र संकुचन केवल युद्धबाटै हुन्थ्यो । यहांमात्र हैन संसार भर त्यसैगरी राज्यहरु बन्थे र भत्कन्थे ।

नेपालमा पनि त्यही भयो । त्यही उपक्रममा पृथ्वीनारायण शाह अब्बल प्रमाणित भए । उनले तत्कालीन गोर्खा राज्य विस्तारमा सफलता हासिल गरे । न त उनको अभियान राष्ट्रिय एकताको भावनाले नै प्रेरित थियो, न त उनले त्यसरी तत्कालीन गोर्खा साम्राज्यमा गाभिएका ससाना राज्य र त्यहाँका ‘रैती’हरुलाई नै मानोवोचित व्यवहार गरे । खासमा उनको अभियानसँगै भाषा, भेष, बोली, संस्कृति इत्यादिमा ‘गोर्खानाइजेसन’ सुरु भयो र कालान्तरमा त्यसैलाई ‘नेपालीकरण’ गरियो । खास कुरा चैं यत्ति हो ।

अब इतिहास लेखन र त्यसको बजारिकरणप्रति केही जिज्ञासु दृष्टि लगाऔं ।

१. जहिल्यै पनि समाज चलाउने शासक वर्गले नै हो । सामाजिक नियमहरु निर्माण गर्ने पनि सत्ता र शासक वर्ग नै हुन् । कुनै पनि सामाजिक नियम सत्ताको निर्देशक सिद्धान्तभन्दा अलग हुँदैन । किनकि यो समाज पनि त्यही सत्ताकै रंगले लत्पतिएको हुन्छ । यस मानेमा समाजका हामी बुद्धिजीवी र जान्नेसुन्ने पनि बहुमत समाजले के भन्छ त्यसैलाई अंगिकार गरिरहेका हुन्छौं र समाजमा चिजहरु जेजसरी चलिआएका छन्, त्यसलाई बिना कुनै जा“चपड्ताल हामी नतमस्तक भएर स्वीकार गर्छौं ।

२. अहिलेसम्मको हाम्रो नियती पनि यहि हो कि इतिहासमा हामीले कहिल्यै पनि प्रश्न गरेनौं । किनकि प्रश्न सोध्दा अनावश्यक झमेला हुन्छ । अनावश्यक मथिंगल खियाउनुपर्छ । त्यो लेठो कसले गरोस् ? जे चलेको छ, त्यसैलाई ठीक मान्यो बस् ।

३. हाम्रो परम्परा खासमा व्यक्ति पूजक हो । हामी कसै न कसैको प्रतिमान खडा नगरी बस्नै सक्दैनौं । किनकि आस्थाको विभ्रममा बांच्ने बानी जो हामीलाई परेको छ । त्यसैले नायकहरुको निर्माण नेपाली समाजको चरित्र हो । अनि यो चरित्र हाम्रो विवेकले निर्माण भएको हैन । खासमा हामीलाई पत्तै छैन कि हामी के भन्दैछौं । किनकि हाम्रो मानसिकतामा सत्ताको राज चलेको हुन्छ । हामी सत्ताकै भाषा बोलिरहेका हुन्छौं । यो सत्ताले निर्माण गरेको सांस्कृतिक विरासत हो ।

४. इतिहास शासकहरुले नै लेख्छन् । खास उद्देश्य पूरा गर्नका लागि शासकहरुले नै इतिहास लेखाउँछन् । नेपालको इतिहासको सन्दर्भमा शाहवंशकेन्द्रित इतिहास लेखनको व्यवस्थित सुरुवात महेन्द्रले गराएका हुन् । त्यसैले त्यो इतिहास लेखनमा शासकीय स्वार्थ थियो नै । हामी त्यही इतिहास पढेर ‘जान्नेसुन्ने’ भएका पुस्ता हौं । अब हाम्रो बुझाई र ज्ञानमा सत्ताको नियन्त्रण नहुने कुरै भएन ।

५. अब पृथ्वीनारायण शाहको कुरा गरौं । पृथ्वीनारायण शाहको जसरी अहिले एकथरी मान्छेहरु महिमामण्डन गरिरहेका छन्, त्यो वीरताको व्याख्या र विश्लेषण उनको पालादेखि अर्थात् विसं १८२५ देखि नै कायम थियो ? वा त्यो निकै पछि मा लेखियो ? इतिहासका अध्येताहरु भन्छन् – २००७ साल अघिका जनश्रुती, लेखौट, साहित्य, लोक कथाहरु इत्यादिमा उनका ‘दिव्योपदेश’ र ‘एकीकरण अभियान’बारे खासै उल्लेख छैन । त्यसो हो भने यी इतिहासका गाथाका आधिकारिक स्रोत के हो ? संभवतः सत्ता । संभवतः दरवार ।

६. इतिहासका अध्यताहरु भन्छन् –खासगरी १९९० को भुकम्प पश्चात् जसरी नेपालीकरणको प्रक्रिया आरम्भ भयो पृथ्वीनारायणसंगै भानुभक्त, अमरसिंह, बलभद्र, भीमसेन लगायतको योगदानबारे लिखत सुरु भयो । यसरी महा नायकहरुको विम्ब पनि किन कुनै कालखण्डमा मिसनको रुपमा निर्माण गरियो ? किन त्यसलाई आम रुपमा स्वतन्त्र छाडिएन ? अनि त्यो तत्कालीन समयदेखि नै अघि बढाइएन ? किन हामीले ती वीर पुरुषहरुको गाथा सुन्न पञ्चायत नै कुर्नुपर्यो ? के त्यसअघि हाम्रा पुस्ताहरुलाई चैं नेपाल चाहिएको थिएन ? त्यसअघिका पुस्तालाई चैं आफ्नो इतिहास चाहिएको थिएन ? झन् मुलुक बनाउने र बचाउने पुस्ताहरुले चैं किन केही पनि लेख्नुपर्ने, भन्नुपर्ने, सिर्जना गर्नुपर्ने आवश्यकता महशुस गरेनन् ?

७. यी सबै इतिहास हेर्दा शाहवंशको इतिहासमा शासकीय मनोकांक्षा नै प्रदर्शित हुन्छ । त्यसैले यत्ति भन्न सकिन्छ कि –नेपालको इतिहास लेखिएको हैन, लेखाइएको हो । दरबारले इतिहास लेख्न केही इतिहासकारलाई खटाएको तथ्य कतैबाट लुकेको छैन । अनि सत्ताले लेखाएको इतिहासमा जहिल्यै शासकीय समुदायको महिमामात्रै हुनु किमार्थ अनौठो हैन । नत्र किन राज्य निर्माणकै क्रममा लडेका भिडेका अन्य समुदायहरुको चर्चा छैन ?
८. पृथ्वीनारायणको तत्कालीन गोर्खा राज्य विस्तारलाई बिपीदेखि पुष्पलालसम्मले पनि ‘राष्ट्रिय एकीकरण’ भनेका छैनन् । अनि हामीलाई चैं त्यही पगरी गुथाउन किन हतारो ? यत्ति बुझौं पञ्चायतकालमा निर्माण गरिएका इतिहासका गाथा पढेर ‘राष्ट्रवादी’ कहलिएका हामी भन्दा अग्र्यानिक इतिहास नै पढेका थिए होला, बिपी र पुष्पलालहरुले । के उनीहरु अराष्ट्रिय भएरै पृथ्वीनारायणको अभियानलाई एकीकरण नभनेका हुन् ?

९. पृथ्वीनारायण शाहको न त देवत्वकरण नै जरुरी छ, न त दानवीकरण नै उचित छ । बस् उनको पनि एउटा उद्देश्य थियो । उनी पक्कै पनि ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ स्थापनाका लागि हिंडेका थिएनन् । उनी आफ्नो राज्य विस्तार गरी ठूलो राज्यको सम्राट हुने मनोकांक्षा पालेर हिंडेका थिए । उनले आफ्नो अभियान सफल पार्ने अधिकतम् प्रयत्न गरे र उनकै पदाचाप पच्छ्याउंदै उनका पुस्ताहरुले पनि गोर्खा साम्राज्यको विस्तारमा भूमिका खेले ।

इतिहास लेखन र त्यसको बजारिकरणको फलकमा हेर्दा आधुनिक नेपालका ‘राष्ट्र निर्माता’ कहलाइएका पृथ्वीनारायण शाह र उनका उत्तराधिकारीहरुले तत्कालीन गोर्खा साम्राज्यको विस्तारलाई नै मुख्य ध्येय बनाएका थिए । पृथ्वीनारायण शाहले युद्धमार्फत विभिन्न स्वतन्त्र अस्तित्वमा रहेका राज्यहरुमाथि सैन्य बलबाट बिजयी हासिल गरी गोर्खा साम्राज्यको निर्माण गरे । ठीक छ, त्यो बेलाको आवश्यकता त्यही थियो । अनि ती गोर्खा साम्राज्यमा गाभिएका ससाना राज्य, रजौटाहरुलाई त्यही गोर्खाली भाषा, भेष, संस्कार र संस्कृति जर्बजस्त रुपमा अंगिकार गराइयो । गोर्खा साम्राज्यमा गाभिनुपूर्व उनीहरुको छुट्टै भाषा, भेषभुषा, परम्परा, रितिरिवाज, संस्कृति इत्यादिले निर्माण गरेको छुट्टै राष्ट्रियता विशाल बन्दै गएको गोर्खा साम्राज्यमा अस्वीकृत भयो र कालान्तरमा गोर्खा राष्ट्रियताको निर्माण भयो र त्यसैको नेपालीकरणको रुपमा अहिलेको ‘नेपाली राष्ट्रियताको डिस्कोर्स’ निर्माण गरियो ।

अनि हामी आज तिनै शासकले निर्माण गरिदिएको एकल राष्ट्रियताको डिस्कार्सलाई बोकिरहेका छौं । अनि हामीलाई एउटै देशभित्र धेरै राष्ट्रियताहरु हुन्छन् भन्दा जिब्रो टोक्नु पर्ने अवस्था आइपरेको छ । किनकि हामीलाई हाम्रा इतिहासकारहरुले त्यसरी कहिल्यै सिकाएनन् । राष्ट्र र राष्ट्रियता भनेको एउटै कुरा हो, नेपाल राष्ट्र र नेपाली राष्ट्रियता भनाइयो र हामीले त्यही अनुशरण गर्दै आयौं । अह“ हामीलाई कहिल्यै पनि नेपाल बहुराष्ट्रियता भएको मुलुक हो भन्ने आभास नै भएन ।

एकथरी मानिसहरु आज पनि पञ्चायतकालीन राष्ट्रवादको स्वर्णिम वर्णन गर्न पछि पर्दैनन् । नेपालको राजनीतिक इतिहासमा पञ्चायत काल यस्तो कालखण्ड थियो जहा“ खस, आर्य एकल राष्ट्रियताको खुबै व्यापार भयो । यो अवधिमा मुलुकलाई नै एउटै भाषा, भेष, धर्म, संस्कार र संस्कृतिमा ढाल्ने चेष्टा गरियो । महेन्द्रले तिनका जिजुबाबुले पनि गर्न नसकेको काम गरेर देखाइदिए, त्यो हो भूगोलको एकतामा एकल सामुदायिक वर्चस्वको सांस्कृतिक हस्तक्षेप ।

के महेन्द्रीय राष्ट्रवादमा जनताको अधिकारको कुरा छ ? जनताको समृद्धिको कुरा छ ? जनताका मौलिक पहिचान, संस्कार, परम्परा, धर्म, संस्कृतिको जगेर्नाको कुरा छ ? मुलुकमा भएका विभिन्न जाति, भाषाभाषि, वर्ग र समुदायका मौलिक पहिचानको संरक्षण छ ? जनतालाई अधिकार सम्पन्न मालिक बनाउने विषयवस्तु छ ? जनतालाई उत्पीडनको चंगुलबाट मुक्त गराउने योजना छ ? अनि राष्ट्रियता भनेको शासकहरुले जनताका लागि खडा गरिदिएको ‘उपमा’ मात्रै हो ? जसलाई उनीहरुले जीवनभर बोक्नुपर्ने ।

राष्ट्रियताको परिभाषामा जनता पर्दैनन् ? जनताको अधिकार पर्दैन ? जनताको समृद्धि पर्दैन ? यदि पर्छ भने अहिले नेपाल र नेपालीको डिस्कोर्समा यी विषयहरु किन निषेध गरिए ? यसर्थ अबको नेपाली राष्ट्रियता विगतको निरन्तरता होइन । यसमा विभिन्न जाति, भाषा, धर्म, लिंग, वर्ण, क्षेत्र र समुदायका मानिसहरुले फरकफरक पहिचान झल्किने बहु राष्ट्रियताका विम्बहरुलाई स्वीकार गर्नुपर्छ । तबमात्र यो मुलुक सा“च्चिकै राष्ट्र बन्नेछ ।

यी प्रश्नहरुले इतिहासमा कसैको योगदानको अवमूल्यन गर्दैन, बरु थप प्रश्न गर्छन्। पुस २७ कै उदाहरण हेर्दा, जसरी पृथ्वीनारायण शाहको महिमामण्डन गरिंदैछ, त्यो चैं बढी भयो । उनी उनको समयका एक कुशल लडाकु राजा थिए । अनि त्यो बेला त्यस्तै राजा चाहिन्थ्यो, किनकि त्यो राज्यहरुको निर्माणको बेला थिए । भूगोल बढाउने बेला थियो । त्यो आज पढाइने विषयजस्तो एकीकरणको महाअभियान भने कदापि थिएन ।

हामी इतिहासको निर्माण कसरी हुन्छ र कसरी गरिखाने वर्गलाई इतिहासले पाखा लगाउँछ ? त्यसबारे घोत्लिने चेष्टै गर्दैनौं। अनि भन्छौं – ‘सयौं थुंगा फूलका हामी एउटै माला नेपाली’ । अझै पनि सयौं थुंगामै छौं, हामी अह“ ‘सयौं थरी’ फूलको मालाले मात्र सबैको अस्तित्व स्वीकार गर्छ भन्ने सोच्दै सोचेका छैनौं । त्यसैले यत्ति त भन्नै पर्छ, राष्ट्रियता फगत शासकवर्गले निर्माण गरिदिएको सा“घुरो परिभाषा मात्र होइन । यो फगत भूगोल मात्र पनि होइन । यो एउटा सभ्यता अनि देश र जनताको समृद्धि पनि हो । सा“च्चै भन्नुपर्दा राष्ट्रियता जनता हो । जनताको संस्कार र संस्कृति हो । जनताको स्वाभिमान र उनीहरुको पहिचान हो । अनि त्यही पहिचानले निर्माण गरेको साझा अर्थतन्त्र र समृद्धि हो । त्यसकारण यत्ति चैं बुझ्नैपर्छ कि, राष्ट्रवादको एकांगी रागले हाम्रो देश साँच्चिकै अर्थमा राष्ट्र बन्न सक्दैन ।
-Published first time @ sajhapost.com

No comments:

Post a Comment

प्रादेशिक बजेटको शल्यक्रिया

मनिकर कार्की निवर्तमान प्रत्येक आर्थिक वर्ष सरकारले अनुमानित आम्दानी र खर्च विवरणको पुलिन्दाको रुपमा वार्षिक बजेट सार्वजनिक गर्नेगर्छ ।...