यसरी बन्छ नयाँ शक्ति


मनिकर कार्की निवर्तमान
अहिले नयाँ शक्ति पार्टीमा आन्तरिक पुनःसंरचनाको बहस चर्किएसँगै संघीय समाजवादी फोरमसँग एकताको प्रसंगले पनि प्रशस्त मात्रामा बजार चर्चा पाएको छ । उता पार्टी एकता गर्ने कसरतका साथै पार्टीका संयोजक डा. बाबुराम भट्टराई पार्टीलाई नयाँ स्वरुपमा पुनःसंरचना गर्नकै लागि भन्दै बृहत्तर सल्लाह सुझाव संकलन गरिरहनुभएको छ । उहाँले सबै तह र तप्काका नेता, कार्यकर्ता, स्वतन्त्र सामाजिक अभियन्तासम्मबाट सुझाव संकलन गरिरहनुभएको छ ।


पार्टीको यहि साउन ९–१२ गतेका लागि तय गरिएको केन्द्रीय कार्यकारी समिति तथा संघीय परिषद्को बैठकले पार्टीको आगामी गन्तब्य तय गर्ने अपेक्षा गरिएको छ । यो बैठकले पार्टीलाई कुन रुपमा पुनःसंरचित गर्नेछ ? अनि पार्टी एकताको विषय कसरी टुंगोमा पुग्नेछ ? अहिले यो विषय सबै अभियन्ताहरुका लागि आम चासोको विषय बनेको छ ।

नयाँ शक्तिले आफूलाई केवल राजनीतिक दल मात्र नभई मुलुककै वैकल्पिक राजनीतिक शक्तिको रुपमा उभ्याएको छ । आजको लागि वैकल्पिक राजनीतिको अवधारणा बिल्कुलै नूतन विषय हो र यो अबको समाज र देशलाई गाइड गर्ने र आगामी राजनीतिक एजेण्डा सेट गर्नका लागि अपरिहार्य एवं युगीन आवश्यकता पनि हो । यसर्थ, विश्वव्यापी रुपमा निर्माण भइरहेको सापेक्षित चेतनाले पनि संसारमा विकल्पको खोजी गरिरहेको छ, यस अर्थमा राजनीतिमा पनि विकल्पको खोजी त हुन्छ हुन्छ ।

नयाँ शक्ति स्थापनाको बेला जुन उत्साह र उमंग देखिएको थियो, त्यसलाई सांगठनिक स्वरुपमा बदलेर नेता कार्यकर्तालाई जसरी परिचालित गर्नुपर्दथ्यो त्यो हुन सकेन । पार्टी घोषणापछि नेताहरु आफ्नो स्थान सुरक्षित गर्नतिरै बढी केन्द्रीत भएको देखियो । साथै पार्टी पंक्तिमा अलिकति सत्तामुखी चरित्र हावी हुन गएको देखिन्छ । जसका कारण नेताहरु कसरी आफू सुरक्षित हुन सकिन्छ भन्ने ध्याउन्नमा लागे र पार्टी निर्माणको काम ओझेलमा पर्न गयो ।

त्यस्तै नयाँ शक्ति पार्टी केवल एउटा राजनीतिक दल मात्र नभएर वैकल्पिक राजनीतिक विचार पनि हो र हुनुपर्छ । वैकल्पिक राजनीतिक विचार निर्माण गर्नका लागि केही तौरतरिका र शैली अनि व्यवहारमा पनि वैकल्पिक हुन जरुरी हुन्छ ।  वैकल्पिक राजनीतिले बोकेको सन्देश जनस्तरसम्म पुर्याउनको लागि नयाँ शक्तिका अभियन्ता अनि राजनीतिक नेतृत्वले जसरी मेहेनत गर्नुपर्दथ्यो, त्यसमा केही कमजोरी हुन पुगेको साँचो हो ।

त्यस्तै विश्वव्यापी रुपमा बहस आएको वैकल्पिक विचार के हो ? अनि हाम्रो सन्दर्भको विल्कप कस्तो हुन्छ ? वैकल्पिक राजनीति के हो ? त्यस्तो राजनीति संचालन गर्ने सांगठनिक स्वरुप कस्तो हुनुपर्छ ? वैकल्पिक राजनीतिक अभ्यास के हो ? अनि हामीले भन्दै आएको आर्थिक विकास र समृद्धिको मुद्दालाई मुखरित हुनेगरी कार्यान्वयन गर्न के गर्नुपर्छ ? कसरी देशको विकास हुन्छ ? कसरी समृद्धि हासिल हुन्छ ? समृद्धिका लागि व्यक्ति, समाज, राजनीतिक दल, प्रणाली र सरकारले केकस्तो भूमिका खेल्नुपर्छ ? नयाँ शक्तिले अवलम्बन गरेको ५ सको कार्यदिशा के हो ? यसको गन्तब्य के हो ? यी सबै विषयवस्तुहरुमाथि बृहत्तर छलफल र बहस गरेर समाजमा वैकल्पिक राजनीतिक धारको स्थापना गर्नुपर्नेमा त्यो बहस अलिकति निम्सरो हुन पुगेको सत्य हो । साथै नयाँ शक्तिकै केन्द्रीय तहको नेतृत्वमा नै वैकल्पिक राजनीतिका आयामहरुको विषयमा हात्तीको कुनै निश्चित भाग छामेजस्तो मात्र भएको छ । वैकल्पिक राजनीतिलाई सिंगो हात्तीको आकारमा बुझ्ने प्रयत्न नै भएको छैन ।

यसै सन्दर्भमा अब नयाँ शक्ति पार्टीलाई साँच्चिकै वैकल्पिक शक्तिको रुपमा कसरी अघि बढाउन सकिन्छ ? यहाँ १२ बुँदामा केही सुझाव समेट्ने जमर्को गरिएको छ ।

१. प्राकृतिक एवं समाज विज्ञानको नियमले पनि हरेक वस्तु या विचारको सिर्जना विकल्पको रुपमा गरिएको हुन्छ भन्ने कुरालाई प्रमाणित गरेको छ । त्यस्तै विज्ञानको द्वन्द्ववादी नियमले पनि त्यही भन्छ । यसर्थ नयाँ शक्तिलाई साँच्चिकै नयाँ बनाउनको लागि यसको विद्यमान संरचनालाई भत्काउनुपर्छ र त्यसको जगमा नयाँको निर्माण गर्नुपर्छ ।

२. नयाँ शक्ति र संघीय समाजवादी फोरमबीचको एकताको सन्दर्भमा नेतृत्वले एकताको लागि गम्भीर गृहकार्य गरिरहेको छ यो सराहनीय कुरा हो । तर, एकताको शर्त वैकल्पिक शक्ति निर्माण नै हुनुपर्छ, वैकल्पिक राजनीतिक लाइनको रुपमा नयाँ शक्तिले प्रस्तावित गरेको विचार र त्यो विचार बोक्ने नेतृत्वलाई स्वीकार गर्ने शर्तमा मात्र एकता विकल्प निर्माणका लागि गरिएको ठहरिनेछ । नत्र यसले पुनः पुरानैको निरन्तरतालाई थप संस्थागत गर्नेछ ।

३. औपचारिक रुपमा पार्टी बनिसकेपछि पार्टीको सांगठनिक स्वरुपले पनि अनिवार्य रुपमा पूर्णता पाउनुपर्छ । यदि त्यसो हुन सकेन भने पार्टी संरचनाले राम्रोसँग काम गर्दोरहेनछ । जब पार्टीको सम्पूर्ण संरचना र पदीय जिम्मेवारीसहितको कार्य विभाजन हुन्छ एक प्रकारको काम गर्ने उत्साह पैदा हुन्छ । यसर्थ तत्कालै सबै तहमा अधिवेशन गरी पार्टीको पूर्ण अंग तयार गर्नतिर लाग्नुपर्छ ।

४. पार्टी निर्माणका विभिन्न तरिकाहरु मध्ये सामाजिक आन्दोलनहरुको उठान पनि एउटा महत्वपूर्ण विधि हो । पार्टीलाई आम रुपमा स्थापित गर्नका लागि विभिन्न सामाजिक विकृति विसंगति, वातावरणीय सन्तुलन, भ्रष्टाचार एवं व्यभिचार तथा अन्य आम नागरिकको प्रत्यक्ष सरोकारका विषयहरुलाई उठान गरी सामाजिक आन्दोलन छेंड्नुपर्छ ।

५.  अहिले दुई चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको र स्थानीय तहमा कार्यकारी इकाईहरु गठन भइसकेको सन्दर्भमा नयाँ शक्तिले सबै स्थानीय तहहरुमा जनप्रतिनिधिहरुले गर्ने कामकारबाहीको निगरानी गर्दै स्थानीय तहमा हुने र हुनसक्ने भ्रष्टाचारजन्य गतिविधि एवं अनियमितताहरुको फेररिस्त तयार गर्दै त्यसलाई संगठित रुपमै खबरदारी गर्ने र सबै स्थानीय तहमा असली विपक्षीको भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ ।

६. नयाँ शक्ति पार्टीले विगतमा संचालन गरेको ६ महिने घरघरमा नयाँ शक्ति अभियान अन्तर्गत विभिन्न पार्टी तथा समूहहरुसँग राजनीतिक ध्रुवीकरण गर्यो । यस्तो ध्रुवीकरणले अनावश्यक रुपमा टाउको ठूलो बनायो तर, पार्टीको शरीर भने यथास्थितिमै रहन गयो । अबका राजनीतिक ध्रुवीकरणले टाउकोमा बोझ थप्ने होइन परन्तु शरीर र खुट्टा बलियो बनाउने गरी ध्रुवीकरण गर्नुपर्छ ।

७. पार्टी घोषणा भएदेखि नै पार्टीको केन्द्रीय तहमा परामर्शदाता प्रकृतिका नेताहरुको बाहुल्यता बढ्न गयो, जसका कारण निर्णय, आदेश र निर्देशनलाई नै ठूलो उपलब्धि ठान्ने भ्रम सिर्जना भएको देखिन्छ । अब त्यसलाई निवारण गर्नका लागि केन्द्रीय नेतृत्वमा परामर्शतादा (कन्सल्टेन्ट) नेता हैन संगठक एवं व्यवस्थापक नेताको आवश्यकता बोध भएको छ । यसका लागि सबै केन्द्रीय तहका नेताहरुलाई भौगोलिक जिम्मेवारी दिएर भूगोलमा खटाउनुपर्ने देखिन्छ ।

८. नयाँ शक्तिले लिएको विकास समृद्धि, सुशासन र सदाचारको सन्देश आफैंमा निकै गहुँगो सन्देश हो । यस्तो गहुँगो सन्देश बोक्ने सन्देशबाहक नेताहरुले त्यो सन्देश बहन गर्ने ल्याकत, क्षमता र चरित्र प्रदर्शन गर्न सक्नुपर्छ । सन्देश अनुसारको सन्देशवाहक र त्यो सन्देश सम्प्रेषण गर्ने उपयुक्त माध्यम भएन भने जतिसुकै राम्रो सन्देशले पनि भ्यालु नपाउनेरहेछ । यसर्थ, नयाँ शक्तिले आगडि सारेको भिजन र दृष्टिकोणप्रति आम जनस्तरमा विश्वसनीयता जगाउने खालका जागरणपूर्ण कार्यक्रमहरु गर्नुपर्ने देखिन्छ । साथै वैकल्पिक राजनीतिका अभियन्ताहरुको हरेक गतिविधि र जीवनशैली आम मानिसका लागि अनुकरणीय हुने भएकोले कम्तीमा नेतृत्व तहका नेताहरुले पारदर्शी र सदाचारयुक्त जीवनशैली र आचरण प्रस्तुत गर्नुपर्छ ।

९. नयाँ शक्तिले वैकल्पिक राजनीतिको कुरा त गर्यो तर, त्यसको अन्तर्यको बारेमा आम नागरिकलाई सुसूचित गर्न सकेको छैन । नयाँ शक्तिले आफूलाई न लेफ्न न राइट तर, फ्रन्टिष्ट (अग्रगामी) त भनेको छ तर, त्यति हुँदाहुँदै पनि राजनीतिको ओरियन्टेशन चाहिं के हो भन्ने प्रष्टता जरुरी देखियो । फेरि वैश्विक रुपमा पनि वैकल्पिक राजनीतिको इपिसेन्टर (आधारभूमि) कहाँ हो र यसको विश्वव्यापी कार्यक्रमिक योजना कस्तो छ ? यी र यस्ता विषयमा पनि आम जागरण पैदा गर्नुपर्ने आवश्यकता देखिन्छ ।

१०. नयाँ शक्तिले भन्ने गरेको वाम लोकतान्त्रिक पार्टीको आधारभूत चरित्रचाहिँ कस्तो हो ? नेपाली समाजको आर्थिक, सामाजिक, राजनीतिक एवं सांस्कृतिक रुपान्तरणको वैकल्पिक बाटो के हो र कस्तो हुनुपर्छ ? हाम्रो विद्यमान अर्थ–सामाजिक सम्बन्धमा वैकल्पिक राजनीति कहाँनेर कसरी फिट हुन्छ ? यी र यस्ता विषयमा प्रष्टता जरुरी देखिन्छ ।

११. नयाँ शक्तिले मूलतः विकास र समृद्धिलाई मुख्य राजनीतिक एजेण्डा त बनायो, तर त्यसलाई व्यवहारतः कार्यान्वयन कसरी गर्न सकिन्छ भन्ने सवालमा मोडलिङ गर्न सकेको छैन । साथै आम नागरिकलाई सजिलो तरिकाले बुझ्नेगरी समृद्धिको परिकल्पना प्रस्तुत गर्न सक्नुपर्दछ । अब समृद्धिको डक्ट्रिनको रुपमा स्थापित गरेको ५ स को कार्यदिशालाई सिद्धान्तको रुपमा स्थापित गर्न यसका कार्यक्रमिक पाटोलाई पनि नागरिक सामु प्रष्ट्याउनु पर्ने देखिन्छ । त्यसैगरी वैकल्पिक राजनीतिको सांगठनिक संरचना, पार्टी संचालन पद्दती, स्रोतको संकलन र परिचालनका विधि एवं प्रक्रियाहरु, पार्टीका नेता तथा कार्यकर्ताको सांस्कृतिक एवं सामाजिक जीवनशैलीका पाटोहरुलाई पनि स्पष्ट गर्नु जरुरी देखिन्छ ।

१२. नेपाली राजनीतिमा अहिलेसम्म पुस्तान्तरण भएको छैन । अब पार्टीमा नेतृत्व पुस्तान्तरण हुनु जरुरी देखिन्छ । किनकि अबको वैकल्पिक राजनीति निर्माणका लागि मूलतः नयाँ युवापुस्ताको सक्रिय सहभागिता अपरिहार्य छ । ‘पुरानो सुगालाई जति रटाए पनि सिक्न सक्दैन’ भने जस्तो पुरानो पुस्ता जसले जीवनका महत्वपूर्ण ३०÷४० वर्ष राजनीतिमा खर्च गरिसक्यो अब पनि उसैले वैकल्पिक राजनीतिको बिँडो थाम्न सक्दैन । यसर्थ, अब कम्तीमा पार्टीभित्र जनसांख्यिकीय अनुपातमा युवालाई नेतृत्व तहमा स्थान दिनैपर्छ, त्यो नै नयाँ शक्ति निर्माणको आधार हुनेछ ।

No comments:

Post a Comment

प्रादेशिक बजेटको शल्यक्रिया

मनिकर कार्की निवर्तमान प्रत्येक आर्थिक वर्ष सरकारले अनुमानित आम्दानी र खर्च विवरणको पुलिन्दाको रुपमा वार्षिक बजेट सार्वजनिक गर्नेगर्छ ।...