घरदैलोमै पुगेर सेवा दिएका छौँ

नयाँ पत्रिकामा प्रकाशित अन्तरवार्ता

गत पुसदेखि सेवा सुरु गरेको संस्थाको अहिलेसम्म वित्तीय अवस्था कस्तो छ ? 
बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त सञ्चालनमा आएका लघुवित्त वित्तीय संस्थामध्ये सबैभन्दा कान्छो लघुवित्त कम्पनी हो । १० जिल्ला कार्यक्षेत्र बनाएर कारोबार गरिरहेको चौतारी लघुवित्तको चुक्ता पुँजी २ करोड १० लाख रुपैयाँ छ । ५ बैंक तथा वित्तीय संस्था र १ सय ४५ व्यक्तिबाट प्रवद्र्धित संस्थाले ६ शाखामार्फत कारोबार गरिरहेको छ । हालसम्म ६ करोड कर्जा लगानी गरिसकेको छ । लघुवित्त संस्थाको उद्देश्यअनुसार गाउँघरका गरिब र विपन्न परिवारलाई विनाधितो सामूहिक जमानीका आधारमा कर्जा प्रवाह गरी उनीहरूलाई आर्थिक रूपले सक्षम बनाउने काम गरिरहेका छौँ । 


पछिल्लो समय लघुवित्त संस्थाको सेयरमा सर्वसाधारणको आकर्षण देखिन्छ, केले लगानीकर्तालाई आकर्षित गरिरहेको छ ? अहिले भर्खरै सञ्चालनमा आएका केही लघुवित्तबाहेक सबैजसो लघुवित्त वित्तीय संस्थाले राम्रो मुनाफा आर्जन गरिरहेका छन् । अनि सेयरधनीलाई पर्याप्त मात्रामा लाभांश पनि बाँडिरहेकै छन् । यसरी हेर्दा लघुवित्त वित्तीय संस्थाको आर्थिक अवस्था पनि बलियो नै देखिन्छ । अनि लगानीकर्ताको प्रतिफल पनि सुनिश्चित भएकाले उनीहरू लघुवित्तप्रति आकर्षित देखिन्छन् । फलस्वरूप बजारमा लघुवित्तलाई लगानीको प्रतिफल सुनिश्चित हुने क्षेत्रकै रूपमा पनि लिने गरेको देखिन्छ । सेयर बजारमा लघुवित्त कम्पनीको सेयरमा सबैको आकर्षण पनि बढेको देखिन्छ । सोही आकर्षणकै कारण पुँजी बजारमा लघुवित्त वित्तीय संस्थाको सेयर बिक्री आवेदन खुला हुँदा सयौँ गुणा आवेदन पर्ने गरेका छन् ।

 प्रतिफल कस्तो छ ? 
जसरी अहिले लघुवित्त वित्तीय संस्थाले मुनाफा आर्जन गरिरहेका छन् र वित्तीय संस्थाको सफलतालाई उसले आर्जन गरेको मुनाफामा मापन गर्ने गरिएको छ । के यो मात्रै सफलताको आधार हो ? सफलताको मापन तथ्यांकमा मात्रै हुन्छ ? भन्ने प्रश्न पनि जन्मिने गरेको छ । निश्चित रूपमा मुनाफालाई संस्थाको वित्तीय अवस्था मापनको आधार बनाउन सकिन्छ, तर सम्पूर्ण रूपले त्यो मात्रै सफलताको आधार भने होइन । नाफाको मापन तथ्यांकमा मात्रै हुँदैन, सफलताको मापन गर्ने आधारमा वित्तीय संस्थाले पुर्‍याएको गुणस्तरीय सेवा पनि हुन्छ र हुनुपर्छ । लघुवित्तले ऋण प्रदान गरेको समूह सदस्यमा कस्तो आर्थिक परिवर्तन भयो ? उसको जीवनस्तरमा कस्तो परिवर्तन भयो ? मुख्य रूपमा सफलताको मापनको आधार त्यही नै हो जस्तो लाग्छ । तसर्थ, लघुवित्त कम्पनीले कमाउने मुनाफाले मात्रै उनीहरूको सफलता मापन गर्नु वस्तुसंगत हुँदैन । उनीहरूले पुर्‍याएको सेवाको दायरा पनि हेर्नु जरुरी छ । 

कस्ता–कस्ता क्षेत्रमा लगानी गर्दै हुनुहुन्छ ? 
अब लघुवित्त वित्तीय संस्थाले आफ्नो लगानीलाई गाउँकेन्द्रित गरेर केही न केही उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्नैपर्छ । अनि लघुवित्तको खास मर्म र भावनाअनुसार वित्तीय पहुँच विस्तार गर्नुपर्छ । अहिलेसम्मको अभ्यास हेर्दा बजारोन्मुख क्षेत्र नै लघुवित्तको मुख्य बजार बनेको छ र त्यस्तो क्षेत्रमा लगानीको पैसा सबैभन्दा बढी व्यापार र उपभोगमै खर्च भएको देखिन्छ । यसले तत्कालका लागि मुनाफा आर्जन गर्न सजिलो हुन्छ तर, दीर्घकालमा निकै ठूलो समस्या बनेर आउन सक्छ । त्यसकारण अब यसमा थोरै परिवर्तन हुनु आवश्यक छ र लघुवित्त साँच्चिकै नयाँ ठाउँमा गएर सम्भावनाको खोजी गर्नु जरुरी छ । 

लघुवित्तबाट लिने ऋणको ब्याजदर महँगो भएको गुनासा आइरहेका छन् नि ?
पछिल्लो समय लघुवित्त बैंकले लिने ब्याज अचाक्ली महँगो भएको भन्ने कुरा पनि आएको छ । यसमा सबैभन्दा पहिले लघुवित्त बैंक र अन्य बैंकबीचको कार्यगत भिन्नता बुझ्नु जरुरी हुन्छ । लघुवित्त बैंकले पुर्‍याउने वित्तीय सेवा र अन्य बैंकबाट प्राप्त गर्ने वित्तीय सेवामा निकै भिन्नता छ । हामी गाउँगाउँमा गएर सेवा पुर्‍याउँछौँ । हाम्रो सेवा पाउन ग्राहक बैंकसम्म आउनुपर्दैन । हामी उनीहरूकै घरदैलोमा पुगेर सेवा दिन्छौँ । अनि अर्को कुरा लघुवित्त स–सानो लगानीमा आधारित रहेकाले सञ्चालन लागत बढ्न जान्छ, त्यसैले अन्य बैंकको तुलनामा लघुवित्तको ब्याजदर केही बढी हुन पुग्छ । तथापि लघुवित्त वित्तीय संस्थाले पनि अब प्रतिस्पर्धी रूपले लागत घटाउँदै सर्वसुलभ लगानीका लागि विकल्प खोजी गर्नुपर्ने वेला आइसकेको छ ।

लघुवित्तका चुनौती र समस्या के–के छन् ?
अन्य बैंकिङ क्षेत्रमा जस्तै लघुवित्तमा पनि प्रतिस्पर्धा उच्च नै छ । आजको अवस्था हेर्दा झन् लघुवित्तको प्रतिस्पर्धा चुनौतीपूर्ण र कतिपय अवस्थामा अस्वस्थ बन्दै गएको अवस्था छ । किनभने, अरू बैंक तथा वित्तीय संस्थाले पर्याप्त धितो सुरक्षण गरेर कर्जा प्रवाह गर्छन्, अनि उनीहरूले सकार गर्ने धितोको दोहोरो प्रयोगको कुनै अर्थ रहँदैन । तर, लघुवित्तमा विनाधितो कर्जा प्रवाह गरिने हुँदा एउटै व्यक्तिले धेरै लघुवित्तबाट कर्जा लिने सम्भावना रहन्छ । यो दोहोरोपन नै लघुवित्तको मुख्य समस्या हो । त्यसकारण यस्तो समस्या हटाउन नयाँ नयाँ सम्भावनाका क्षेत्र पहिचान गर्दै लघुवित्त कम्पनीले आफ्नो सेवामा नवीनता ल्याउनु जरुरी छ । यदि साँच्चिकै लघुवित्तलाई वित्तीय पहुँच विस्तारको भरपर्दो र दरिलो माध्यम मान्ने हो भने अब लघुवित्त र अन्य बैंकिङ सेवामा विशिष्टीकरण गर्नु अति जरुरी छ । लघुवित्त नेपालका लागि एकदमै उपयोगी र आवश्यक वित्तीय संस्था हो । किनकि यो देशमा अझै पनि धेरै घरपरिवार गरिब र विपन्न नै छ । 

प्रस्तुति : विष्णु घिमिरे/नयाँ पत्रिका - See more at: http://www.enayapatrika.com/2016/05/62758#sthash.CIgSrByL.dpuf

No comments:

Post a Comment

प्रादेशिक बजेटको शल्यक्रिया

मनिकर कार्की निवर्तमान प्रत्येक आर्थिक वर्ष सरकारले अनुमानित आम्दानी र खर्च विवरणको पुलिन्दाको रुपमा वार्षिक बजेट सार्वजनिक गर्नेगर्छ ।...