दामन–कुलेखानीका तरेलीहरु

होटलबाट निस्कि“दा बिहानको सा“ढे सात बजेको थियो । तुलनात्मक रुपमा हेटौंडा बुटवल भन्दा केही चिसो महशुस भयो । सारा बजार दसैंको चहलपहलमा डुबेको देखिन्थ्यो । मानिसहरु रातापिरा भएर हिंडिरहेका देखिन्थे । दसैंको रौनक बजारमा बढेकै थियो । हामी भने यात्रालाई निरन्तरता दिन कस्सिइसकेका थियौं । चारैतिर हरियालीले छोपेको हेटौंडा बिहान भर्खरै नुहाएकी युवतीको ताजगीझैं सुन्दर र स्वस्थ देखिन्थ्यो । हामी त्यसैको सुन्दरतामा मग्न थियौं । बजारको परिक्रमा गर्दैगर्दा एकपटक हेटौंडा कपडा उद्योग हेर्ने रहर जाग्यो । गएको माघ महिनामा एकीकृत नेकपा माओवादीले ठूलो तामझामका साथ आफ्नो सातौं महाधिवेशन सम्पन्न गरेको स्थल हेर्ने रहर जागेर आयो । त्यसो त झण्डै डेढ दशकदेखि बन्द रहेको सरकारी स्वामित्वको देशकै ठूलो कपडा उद्योग अहिले निकै जीर्ण अवस्थामा छ । माओवादीले सांकेतिक रुपमा हेटौंडा कपडा उद्योगको परिसरमा आफ्नो महाधिवेशन आयोजना गरेर त्यसलाई पुनर्संरचना गर्ने संकेत गरेको थियो ।



वि.सं. तीसको दसकको सुरुवाततिर चीन सरकारको सहयोगमा स्थापना भएको उद्योगले हजारौंलाई रोजगारी दिएको थियो । तर, पछि राजनीतिक दलहरुको भर्ती केन्द्र बन्न पुगेको उद्योगले आर्थिक संकट खेप्दै गयो र अन्ततः उठ्नै नसक्ने गरी थला प¥यो । राज्यको ठूलो लगानी बालुवामा पानी भयो । नेपालमा यस्ता उदाहरणहरु धेरै छन् । नवलपरासीको गैंडाकोटमा रहेको भृकुटी कागज कारखानाको पनि उही हालत छ । अहिले नेपालमा कागजको खपत अत्यधिक मात्रामा बढ्दै गएको छ । तर, मुलुककै ठूलो कागज कारखाना वषौंदेखि बन्द हुन पुगेको छ । उक्त कारखाना सञ्चालनका लागि पटकपटक धेरै प्रयासहरु भएको नाटक त रचियो तर, बन्द रहेका उद्योगहरु सञ्चालनका लागि ठोस पहलकदमी भएको देखिंदैन । चाहे हेटौंडाको कपडा उद्योग होस् वा भृकुटी कागज कारखाना होस् वा विराटनगर जुट मिल होस् वा बुटवलको धागो कारखाना नै किन नहोस्, सबै सरकारी स्वामित्वका उद्योगधन्दाहरु बन्द गरेर कौडीको मूल्यमा नीजि क्षेत्रलाई दिने प्रपञ्चस्वरुपमा उद्योगहरुलाई अनावश्यक रुपमा आर्थिक बोझ बोकाएर विघटनको संघारमा पु¥याउइएको छ ।

कथित उदारीकरणको नाउ“मा सरकारी स्वामित्वका राष्ट्रलाई नै ठूलो योगदान दिइरहेका उद्योगहरुको निजीकरणले खै कस्तो अर्थतन्त्रको विकास गर्ने हो ? अहिले बुटवलको धागो कारखाना सञ्चालनको लागि केही पहल भइरहेको सुनिएको छ । आशा गरौं यो पहलकदमी सफल होस् र त्यसै अनुरुपमा मुलुकभरका विघटनउन्मुख सरकारी स्वामित्वका उद्योग, कलकारखानाहरुले पुर्नजीवन प्राप्त गरुन् । हेटौंडा कपडा उद्योगको जीर्ण अवस्था देख्दा शासकहरुलाई धिक्कारन मन लागेर आयो । नेपालका सबैजसो सरकारी स्वामित्व भएका संस्थानहरुको हालत उही छ । नीजि क्षेत्रले आफ्नै लगानी, बुद्धि विवेकमा उद्योग, कलकारखाना सञ्चालन गरी मुनाफा आर्जन गर्छ । तर, विदेशी राष्ट्रहरुले सम्पूर्ण रुपमा लगानी गरेर खडा गरिदिएको संरचनाको प्रयोग गरेरसमेत खर्च धान्न नसक्नु निश्चय नै लागमर्नु कुरा हो । सरकारी स्वामित्वमा हाल सञ्चालन भइरहेका ३७ संस्थानहरु मध्ये ५ वटा बाहेक सबै नोक्सानीमा जानुले पनि उद्योग, धन्दा, कलकारखाना चलाउने सवालमा सरकारी दृष्टिकोण अपरिपक्व रहेको महशुस हुन्छ । हेटौंडा कपडा उद्योगको वस्तुस्थितिले पनि त्यही कुरा पुर्नपुष्टि गरेको महशुस भयो ।

हेटौंडाबाट उकालो लाग्दा बिहानको ९ बजेको थियो । राप्तीको तीरैतिर नागबेली परेको बाटोमा मोटरसाइकलको ह्याण्डिल घुमाउ“दै उकालो हुईंकिदा निकै रमाइलो अनुभव भयो । शरद् ऋतुको बिहानीस“गै सुरु भएको गुवाली जाडोलाई चिर्दै हामी हुईंकियौं । त्यस्तै १५÷२० मिनेटको यात्रापछि हामी भैंसे भन्ने ठाउ“मा पुग्यो । भैंसेबाट काठमाडौंका लागि दुईवटा बाटाहरु छन् । एउटा मकवानपुरको पुरानो सदरमुकाम भिमफेदी–चिसापानी गढीको उकालो हु“दै काठमाडौं जाने अर्को सिमभञ्ज्याङ–दामनहु“दै नौबिसे निस्कने त्रिभुवन राजपथ । हामी दामनहु“दै काठमाडौं जाने योजना थियो, त्यसैले भैंसेबाट सिमभञ्ज्याङतिर उकालो चढियो । अबको भूगोल भने मेरा लागि पनि नौलो थियो । एकपटक हेटौंडाबाट भिमफेदी हु“दै काठमाडौं गएको थिए“ । तर, अर्कोबाटो भने म हिंडेको थिइन“ । त्यसैले नया“ भूगोल देख्नेबित्तीकै मन थप रोमाञ्चित भइरहेको थियो । डा“डा पाखाहु“दै सर्पजस्तै बटारिएको बाटोमा मोटरसाइकल चलाउ“दा छुट्टै रमाइलो अनुभव भयो । त्यसो त यो बाटोमा तुलनात्मक रुपमा सवारीसाधनहरु कम चल्ने हु“दा ड्राइभ गर्न अलि सजिलो हुन्छ । शायद दसैं मनाउन मानिस बोकेर गाउ“ जा“दै गरेका एकाध साना मिनिट्रक र केही बसहरुबाहेक सवारी छ“दैथिएन भन्दा पनि हुन्छ । बाटो पूर्णतया खालि नै थियो । हामीजस्ता मोटरसाइकल यात्रीहरुको लागि यो जत्तिको गजबको समय अरु हुने कुरै भएन ।

घुम्ती, मोड, पुलपुलेसाहु“दै हामी उकालो चढ्यौं । पहाडी बाटोको यात्रा गर्नु यो मौसम उपयुक्त हुन्छ । किनकि चारैतिर हरियालीले ढाकेको मौसम जताततै रमणीय देखिन्छ । फेरि आफू पहाडी क्षेत्रमा जन्मिएरै हो वा के हो कुन्नि डा“डापाखा र हरियालीले असाध्यै मन चञ्चल बनाइदिन्छ । यद्यपि पहाडी जीवनका दुःख र पीडाहरु पनि कम भने छैनन् । हामीलाई पहाडको सुन्दरताले मोहित बनाएको थियो । र, हामी पहाडी र हिमाली क्षेत्रको सुन्दरता देखेर मन्त्रमुग्ध हुन्छौं र सोच्दछौं, सधैं यस्तै सुन्दरताबीच जीवन बिताउन पाए क्या गजब हु“दो हो । तर, यथार्थमा त्यहा“को दुःख, पीडा र कष्टको बारेमा हामी सोच्दै सोच्दैनौं । हिमाल हेर्दा जति सुन्दर र स्वच्छ देखिन्छ, त्यहा“को जनजीवन र जिवीका त्यत्तिकै कष्टपूर्ण हुन्छ । मलाई पनि त्यस्तै अनुभूति भयो । एक दिनका लागि पहाडी राजमार्गमा मोटरसाइकलमा हुईंकिदा जत्ति रोमाञ्चित भइन्छ, त्यहा“को जीवनस“ग एकाकार हुन त्यत्तिकै कठिन पनि हुन्छ ।

यद्यपि आजको लागि त म एक यायावर मात्रै न थिए“, मैलेपनि पहाडी दृष्यदृष्यावलीहरुको भरपूर मनोरञ्जन नै लिए“ । त्यस्तै हामी दस बजेतिर भैंसे गाविसको चुनिया बजार पुग्यौं । चुनिया बजारमा मिठो चियाको चुस्की लिएपछि हाम्रो यात्रा अघि बढ्यो । सल्लाघारीभित्र लुकामारी गर्दै लमतन्न सुतिरहेको मोटरबाटोलाई पच्छयाउ“दै उकालो लाग्दा कम्ति रमाइलो भएन । जति उकालो चढ्दै गयो चिसोपना उति बढ्दै थियो । यस्तैमा हामी मकवानपुरकै अघोर बजार पुग्यौं जुन समुद्री सतहबाट २०७८ मिटर उचाइमा रहेछ । वरिपरी गुरा“सको जंगलले घरेको अघोर बजार सुन्दर र रमणीय लाग्यो । बजारबाट उकालो लाग्दै गर्दा बाटोको छेऊमा एकहुल महिलाहरु मूला धोइपखाली गर्दै थिए । शायद काठमाडौं निकासी गर्ने मूला थियो त्यो । त्यसो त मकवानपुरको पालुङ, टिस्टुङ, मार्खु, बज्रयोगिनी, कुलेखानी लगायतको क्षेत्रबाट काठमाडौंमा धेरै तरकारी भित्रिने गर्दछ । अघोर बजारमा एकछिन बसेर थकाई पनि मारियो । उच्च पहाडी क्षेत्र भए पनि हामी त्यहा“ पुग्दा वातावरण निकै घमाइलो थियो । हामीले पनि केहीबेर घाममा सेकियौं र फेरि उकालो चढ्यौं ।

फेरि उही र उस्तै दृष्यहरु नया“ परिवेशमा देर्खा पर्दै गए । अब उकालो चढ्दै जा“दा सल्लाको ठाउ“मा उत्तिसका बोटहरु प्रशस्त देखिंदै थिए । हामी दामनको सिमभञ्ज्याङ पुग्दा मध्यान्ह भइसकेको थियो । समुद्री सतहबाट २४८८ मिटर उचाईमा रहेको सिमभञ्ज्याङबाट मनोरम हिम श्रृंखलाहरुको दृष्यावलोकन गर्न सकिन्छ । सिमभञ्ज्याङमा केहीबेरको सुस्ताईपछि हामी ओरालो झ¥यो । केहीबेरमै दामन आइपुग्यो । २३२२ मिटरको उचाइमा रहेको दामनको भ्यूटावर रिसोर्टमा एकछिन सुस्ताएर वरिपरीको दृष्यहरुलाई आ“खा र क्यामेरामा कैद गर्नतिर लाग्यौं । खुलेको आकाशको हिमाली किनारातिर बादलका ससाना टुक्राहरु सेता हिमालका सुन्दरतालाई छोप्न त“छाडमछाड गर्दै कुदिरहेका थिए । शायद जलवायु परिवर्तनको असरले नै त होला हिमालका तल्ला भागहरु कालाम्य देखिन्थे । यद्यपि हिमालले आफ्ना उ“चो शिरमा भने सेता पगरी गुथिरहेका थिए । हामी पनि ती दृष्यहरुलाई हेरेर केहिबेर मन्त्रमुग्ध नै भयौं । सुन्दर युवतीका दन्तलहरझैं चम्किएका हिमाल हेर्दै कफि सुक्र्यायौं र झण्डै एक घन्टापछि हाम्रो यात्रा पालुङतिर सोझियो ।

हेटौंडाबाट उकालो लाग्दै गर्दा पालुङमा पुगेर खाना खाने तालिका निर्माण भएको थियो । त्यसै अुनसार पालुङमा रहेको बीबीसीमा कार्यरत एक मित्र रोजिता अधिकारीको घरमा गएर खाना खायौं र केहीबेर सुस्तायौं । रोजिता अधिकारी मेरी काठमाडौंकी मित्र हुन् । उनीस“ग केही वर्ष स“गस“गै बसियो पनि, जब म कर्मको खोजीमा बुटवल हान्निए“, उनीस“गको भेट पातलिएको थियो । आज सपरिवारलाई जन्मघरमै गएर भेट्ने अवसर पाउ“दा साहै्र खुसी पनि लाग्यो । पालुङबाट हिंड्दा झण्डै तीन बजिसकेको थियो । यद्यपि हामीलाई कुनै हतारो भने थिएन । अब हामीस“ग काठमाडौं छिर्नका लागि दुईवटा विकल्पहरु थिए एउटा त्रिभुवन राजपथहु“दै नौबिसे निस्कने अर्को टिष्टुङ–मार्खु–कुलेखानी हु“दै दक्षिणकाली निस्कने । हामी कच्ची सडकमा धुलो उडाउ“दै कुलेखानीतर्फ लाग्यौं ।

कुलेखानीको पश्चिमी मोहडा दल्सिङपाखाबाट इन्द्र सरोबरको एउटा कुनो हेर्दा ठूलै सफलता हासिल भएझैं भयो । हामी पनि केहीबेर त्यहीं बसेर कुलेखानीको शान्त र सौम्य प्रस्तुति नियाल्न थाल्यौं । त्यसपछि इन्द्र सरोबरको छेउछेउ हु“दै गएको मोटरबाटोमा धुलो उडाउ“दै मुख्य ड्यामतिर अघि बढ्यौं । वर्षैभरी लोडसेडिङ्गको समस्या झेल्नु परेको मुलुकमा कुलेखानीको महत्व निकै छ । सरकार परिवर्तन भएस“गै लोडसेडिङ्ग बढाउने÷घटाउने कुराको निर्धारण गर्ने आयोजना यही कुलेखानी हो । यसैको पानीले सञ्चालन भएका कुलेखानी ए र बी गरी ९२ मेगावाट बिजुली मात्र जलाशययुक्त आयोजना हुन् । जुन मौसममा कुलेखानी भरिन्छ, त्यस मौसममा लोडसेडिङ्ग कम हुन्छ र सत्तासिनहरुले लोडसेडिङ्ग घटाएकोमा गर्व गछन् । लोडसेडिङ्गको सा“चो यही कुलेखानीको पानीमा निर्भर छ । यसपाली कुलेखानी भरिएर ओभरफ्लो भएको छ । बेलैमा कुलेखानीबाट विजुली उत्पादन सुरु भयो भने पक्कै पनि यसवर्षको लोडसेडिङ्गमा पनि केही राहत हुन सक्छ ।

इन्द्र सरोबरको अवलोकन पश्चात् हामी सिस्नेरीतर्फ ओरालोलाग्यौं । सिस्नेरी पुग्दा झण्डै ६ बजिसकेको थियो । त्यसपछि धिमा गतिमा गोधुली सा“झमा धुलो उठाउ“दो दक्षिणकालीतिरको उकालो नाप्न सुरु भयो । वर्षात्का कारण बिग्रेको उकालो ठाडो बाटो सुस्त गतिमा उकालो चढ्दै गर्दा सा“झ झमक्क परिसकेको थियो । दक्षिणकालीको गल्छेंडोमा पुग्दा सा“झ सात बजिसकेको थियो । दक्षिणकाली पुगेपछि बल्ल यात्राले विश्राम पायो र बासबस्ने थलो बन्यो भिलेज इन रिसोर्ट ।



मनिकर कार्की “निवर्तमान”
Published on Dainikpatra Daily. 2070.07.23 Saturday

No comments:

Post a Comment

प्रादेशिक बजेटको शल्यक्रिया

मनिकर कार्की निवर्तमान प्रत्येक आर्थिक वर्ष सरकारले अनुमानित आम्दानी र खर्च विवरणको पुलिन्दाको रुपमा वार्षिक बजेट सार्वजनिक गर्नेगर्छ ।...